• २७ फागुन २०८२, बुधबार

बाँके–२ मा पहिलो पटक एमालेको जित

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, फागुन २७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) ले हालसम्मकै पहिलो जित हासिल गरेको छ । एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी हुँदै एमालेलाई इतिहासमै पहिलो पटक जित दिलाउनुभएको हो । 

राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठलाई पाँच हजार ९४६ मतान्तरले पराजित गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगन्जका अनुसार राईले २४ हजार ६२८ मत प्राप्त गर्नुभयो भने श्रेष्ठले १८ हजार ६८२ मत ल्याउनुभयो । नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइराला १७ हजार ५९६ मतसहित तेस्रो स्थानमा रहनुभयो ।

यसअघि तत्कालीन मधेशी जनअधिकार फोरम र जनता समाजवादी पार्टी नेपालबाट दुई पटक सांसद भइसक्नुभएका राई विजयपछि मतदाताप्रति आभार व्यक्त गर्दै विकासका बाँकी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले देशभरि पार्टीका शीर्ष नेताहरू पछि परिरहेको अवस्थामा पनि बाँके–२ मा एमालेले पहिलो पटक इतिहास रचेको बताउनुभयो ।