• २७ फागुन २०८२, बुधबार

ढुङ्गाले छाएका घरको संरक्षण आवश्यक

blog

सल्यानमा ढुङ्गाले छाएका परम्परागत घर । तस्बिर : शङ्कर केसी

शङ्कर केसी 

शारदा (सल्यान), फागुन २७ गते । घर छाउन जस्तापाता तथा आधुनिक पक्की भवनको लहर चलिरहेको बेला सल्यानका केही पालिका र ग्रामीण क्षेत्रमा भने परम्परागत ढुङ्गाको छाना भएका घर देख्न सकिन्छ । 

वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले समेत अत्यन्त उपयोगी ती घर पूर्ण रूपमा ढुङ्गा, माटो र काठबाट बनेका छन् । यहाँको कुमाख, दार्मा, बागचौर, शारदा, वनगाड कुपिण्डे, त्रिवेणीलगायतका स्थानीय तहका केही गाउँमा ढुङ्गाको छानाले सजिएका घरले पुरानो नेपाली वास्तुकला र जीवनशैलीलाई संरक्षण गरेर राखिरहेका छन् । पछिल्लो समय ढुङ्गाले छाएका घर निर्माण हुन भने छाडेका छन् । 

सदरमुकाम खलङ्गा क्षेत्रमा पनि केही घरका ढुङ्गे छानाका छन् । कुमाख गाउँपालिका–७ जिमाली गाउँमा मात्र करिब २५ वटा ढुङ्गाले छाएका घर रहेको स्थानीय मङ्गलाकुमारी चन्दले बताउनुभयो । वडा नं. २ डाँडाकटेरीमा १५ वटा घर यस्तै प्रकारका छन् । 

बागचौर नगरपालिका–१२ मा पनि अधिकांश ढुङ्गाका घर रहेको स्थानीय गोपिलाल वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वडामा अझै पहिलेका चार सयभन्दा बढी ढुङ्गाले छाएका पुराना घर छन् तर अब नयाँ घर बनाउँदा सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् । निम्न वर्गका मान्छेले खर र ढुङ्गाको छानो हटाएर जस्तापाताले छाउन थालेका छन् ।” बागचौर–९ का स्थानीय मोहन चन्दले पनि आफ्नो क्षेत्रमा अझै पाँच सयभन्दा बढी ढुङ्गाको छाना भएका घर रहेको उल्लेख गर्दै अब बन्ने घर आधुनिक बनिरहेको बताउनुभयो । 

गाउँमा सडक आएपछि गाउँलेले सहर बजारियाले जस्तो सिकेर परम्परागत घर भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको कतिपयको बुझाइ छ । यद्यपि परम्परागत ढुङ्गाले छाएको घरमा नै बस्न आनन्द हुने स्थानीयको अनुभव छ । कुमाख–२, डाँडाकटेरी निवासी लालीगुरास सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेरबहादुर चन्दले भन्नुभयो, “जस्तापाताले छाएका घरमा घाम लाग्दा धेरै गर्मी र जाडोयाममा निकै चिसो हुन्छ तर ढुङ्गाले छाएको घरमा भने आनन्द नै हुन्छ ।” उहाँका अनुसार गाउँमै ढुङ्गा खानी भए पनि वन क्षेत्रमा क्षति पुग्ने भएकाले बन्द गरिएको र काठ धेरै लाग्ने भएकाले पनि अहिले अधिकांश घर जस्तापाता वा पक्की बन्दै गएका छन् ।

जिमालीकी रूपा शाहीले भन्नुभयो, “ढुङ्गाले छाएको राम्रो थियो, म पनि बसेकी थिएँ तर छुट्ठिएपछि जस्तापाताले छाएको घरमा बसेँ । गाउँमा ढुङ्गाले छाउनुअघि त खरले छाएका घरहरू थिए ।” ढुङ्गाका छाना स्थानीय स्रोतको सदुपयोग, पर्यावरण मैत्री निर्माण र चिसो वा गर्मीबाट जोगाउने प्रभावकारी तरिका मानिन्छन् । वर्षौंदेखि प्रयोग हुँदै आए पनि आधुनिकीकरण र सुविधाको प्रभावले यिनको सङ्ख्या घट्दै गएको छ ।