मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), फागुन २७ गते । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्र बनाउने भएको छ । गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा फोहोरबाट मोहर कमाउन सदरमुकाम जोमसोममा आधुनिक उपकरणसहितको प्रशोधन केन्द्र र मार्फामा एक करोड २० लाख रुपियाँको लागतमा सङ्कलन केन्द्र बनाउने भएको हो ।
पर्यटकको आगमनसँगै फोहोर सङ्कलन तथा व्यवस्थापनमा चुनौती भएपछि सफा र सुन्दर घरपझोङ बनाउन गण्डकी प्रदेशबाट ८४ लाख रुपियाँ र गाउँपालिकाले ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचलले बताउनुभयो ।
अध्यक्ष लालचनले भन्नुभयो, “फोहोर व्यवस्थापनसँगै आम्दानीका लागि यो परियोजना सुरु गरिएको छ । घरबाटै वर्गीकरण गरी फोहोर व्यवस्थापनका लागि सवारीसाधन खरिद गर्दै छौँ ।” गाउँपालिकाभित्रका पाँच वटै वडाबाट कुहिने र नकुहिने फोहोर सङ्कलनका लागि सवारीसाधनसमेत खरिद गरिने योजना रहेको छ । गाउँ कार्यपालिकासहित फोहोर व्यवस्थापनमा सक्रिय स्थानीय समुदायको सहभागितामा गण्डकी प्रदेशमा प्रभावकारी फोहोर व्यवस्थापन गरिरहेका स्थानीय तहको समेत अवलोकन भ्रमण गरिएको छ ।
फोहोर उत्पादन हुनासाथ कुहिने र नकुहिने दुई भागमा वर्गीकरण गर्न डस्टबिन र सङ्कलनका लागि प्लास्टिकसमेत उपलब्ध गराउने अध्यक्ष लालचनको भनाई छ । जिल्लाको सदरमुकाम रहेको पालिका हुँदै मुक्तिनाथ मन्दिर, उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकलाई समेत आकर्षित गर्न विभिन्न सौन्दर्ययुक्त काम गरिरहेको गाउँपालिकाले सफा र स्वच्छ घरपझोङको बनाउन गाउँपालिकावासीलाई फोहोरमैला व्यवस्थापनसम्बन्धी तालिमलगायत विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ ।
गाउँपालिकाले मदिराका बोतल प्रयोगमा कडाइ गरेको छ । कुहिनेलाई घरमै कम्पोस्ट मल बनाउने र नकुहिनेलाई बिक्री गरी हुने आम्दानीबाट फोहोरमैला व्यवस्थापनमा आवश्यक पर्ने सामग्री, उपकरण खरिदमा खर्च गरिने गाउँपालिकाले जनाएको छ ।
यसैबिच अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा सङ्कलित नकुहिने प्लास्टिकजन्य फोहोरमैला उठाएर पुनः प्रयोगका लागि पोखरास्थित ग्रिन वेस्ट म्यानेजमेन्ट प्रालिसँग सम्झौता गरेको छ । नकुहिने फोहोर सङ्कलन गरी ट्रकबाट पोखरा ढुवानी गर्ने गरिएको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो । मुस्ताङका पाँच वटै स्थानीय तहमा फोहोर व्यवस्थापनको समस्या रहेको छ ।