सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), फागुन २७ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटामा सुरक्षाका लागि खटिएका निर्वाचन प्रहरीलाई विभिन्न सीपमूलक तालिममा सहभागी गराउने तयारी गरिएको छ। निर्वाचन प्रहरीलाई आयआर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटासँगको समन्वयमा तालिम सञ्चालन गर्ने योजना अघि सारिएको हो।
धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार निर्वाचनमा खटिएका नौ सय ८९ जना निर्वाचन प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले विभिन्न सीपमूलक तालिममा सहभागी गराउन लागिएको हो। उत्तरपानीस्थित प्राविधिक शिक्षालय तथा घरेलु तथा साना उद्योग कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार तालिममार्फत घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रक्रिया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडेलबारे पनि जानकारी दिइनेछ।
यस्तै बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी तालिम प्राप्त निर्वाचन प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारी पनि गरिएको छ। निर्वाचनमा खटिएका इच्छुक प्रहरीलाई छनोटका आधारमा तालिम प्रदान गरिने बताइएको छ। प्रमुख जिल्ला अधिकारी खड्काले साना–साना कामबाट पनि छिटो आम्दानी गर्न सकिने भएकाले अवसरबारे जानकारी गराउँदै उनीहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्य रहेको बताउनुभयो।
उहाँका अनुसार निर्वाचनमा खटिएकामध्ये पाँच सय जनाले मात्रै तालिम लिए पनि करिब पच्चीस सय परिवारका लागि सानोतिनो आम्दानीको बाटो खुल्ने विश्वास गरिएको छ।
धनकुटाको उत्तरपानीस्थित प्राविधिक शिक्षालय र घरेलु तथा साना उद्योग कार्यालयसँग समन्वय गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने, सिलाइ–कटाइ जस्ता विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने तयारी गरिएको छ। साथै मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ र कपाल काट्ने (सैलुन) लगायतका प्राविधिक काममा पनि तालिम दिने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ।
तालिमपछि गाउँघरमै रोजगारी सिर्जना गर्न सक्ने क्षेत्रलाई प्राथमिकता दिइएको प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ। यसैगरी तालिममार्फत कृषि तथा पशुपालनतर्फ पनि उनीहरूलाई आकर्षित गर्ने योजना बनाइएको छ। कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती र मौरीपालन जस्ता कामबाट सानो लगानीमै घरमै बसेर राम्रो आम्दानी गर्न सकिने सम्भावनाबारे जानकारी दिइनेछ।
निर्वाचन प्रहरीलाई दीर्घकालीन रूपमा उपयोगी हुने सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम अघि सारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताउनुभयो। उहाँका अनुसार अध्ययन गर्न चाहनेले अध्ययन गर्ने, विदेश जान चाहने विदेश जाने र नेपालमै बसेर केही गर्न चाहनेलाई गाउँमै सानो उद्योग वा व्यवसाय सञ्चालन गर्न आवश्यक सीप सिकाउन सकियो भने त्यसले उनीहरूको भविष्यमा ठुलो सहयोग पुर्याउनेछ।
तालिममार्फत घरेलु उद्योगका विभिन्न प्रकार, स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग, साना उद्यम सञ्चालनका सम्भावना तथा रोजगारी सिर्जनाका विविध पक्षबारे निर्वाचन प्रहरीलाई जानकारी गराइनेछ। यसबाट उनीहरूलाई उद्यम र आयआर्जनका गतिविधिमा जोड्ने तथा स्थानीय स्तरमै साना उद्यमी उत्पादन गर्ने लक्ष्य राखिएको बताइएको छ।
निर्वाचन प्रहरीलाई घरेलु उद्योग तथा आयआर्जनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने र फागुन २८ गते बिदा दिइने जनाइएको छ।