विष्णुप्रसाद पोखरेल
दमक, फागुन २६ गते । फागुन २१ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गरी पहिलो पार्टी बनेको छ भने श्रम संस्कृति पार्टीले पुराना दलहरूलाई चुनौती दिँदै तेस्रो स्थान हासिल गरेको छ ।
जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट रास्वपाले २ लाख ४८ हजार १३८ समानुपातिक मत प्राप्त गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार नेकपा एमालेले ५५ हजार २५१ मत प्राप्त गरेको छ । नेपाली काँग्रेस राप्रपा र नेकपालाई चुनौती दिँदै नयाँ खुलेको श्रम संस्कृति पार्टीले ४५ हजार ३२५ मत ल्याएर तेस्रो बढी मत पाएको छ ।
नेपाली काँग्रेसले ३८ हजार १७० मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ७३४ मत प्राप्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले ७ हजार ९९८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । झापामा सोमबार बेलुकासम्म सबै क्षेत्रको मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो ।
३९ उम्मेदवारले सय मत कटाएनन्
यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाबाट उम्मेदवारी दिएका ९० उम्मेदवारमध्ये ३९ जनाले एक सय मत पनि नकटाएको पाइएको छ । जिल्लाका पाँच निर्वाचन क्षेत्रमा १७ स्वतन्त्रसहित ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । एक सय मत नकटाउनेमा राजनीतिक दलका उम्मेदवारहरू पनि रहेका छन् ।
विभिन्न राजनीतिक दलका २४ र १५ जना स्वतन्त्र उम्मेदवारले एक सय मत पनि नकटाएको नेपालले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवार बनेका १७ जनामध्ये दुई जनाले मात्र १०० मत कटाएका छन् ।