• २६ फागुन २०८२, मङ्गलबार

विकास र समृद्धि उच्च प्राथमिकतामा रहने : आलम

blog

नेपाली कांग्रेसबाट रौतहट –२ मा बिजयी हुनु भएका मो. फिरदोश आलम । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 
रौतहट, फागुन २४ गते ।
रौतहट क्षेत्र नं. २ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मो. फिरदोश आलमले रौतहट २ मा विकास, बेथितिको अन्त्य गर्दै सुशासन कायम र जनभावना अनुसारको कार्य आफ्नो पहिलो प्राथमिकतामा रहने बताउनुभएको छ । नेपालि कांग्रेसबाट फराकिलो मतले निर्वाचित भए पछि सञ्चारकर्मीसँग कुरा गर्नु हुँदै उहाँले समग्र क्षेत्रको विकासका लागि आफु कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफु निर्वाचित भएपछि पार्टीको सांसद नभएर यहाँको प्रत्येक नागरिकको सांसद भएको बताउनुहुँदै उहाँले आफु कहिल्यै भेदभावपूर्ण कार्य नगर्ने बताउनुभयो ।

जेनजी आन्दोलनको जगमा भएको यो निर्वाचनको मुख्य मर्म अनुसार काम गर्न आफु एक कदमपछि नपर्ने बताउनुहुँदै उहाँले युवाको भावना अनुरुप काम गर्ने, सुशासन, पारदर्शिताका लागि जवाफदेही भएर काम गर्ने र अबस्थामा आमूल परिवर्तन ल्याउन सक्रिय भएर लाग्ने बताउनुभयो ।

क्षेत्र नं. २ को जनताको मुख्य समस्या युवा विदेशिएको, कृषिमा सिँचाइको समस्या, गुणस्तरिय शिक्षा र गुणस्तरीय स्वास्थ्यको मुख्य रुपमा समस्या रहेकोले त्यसका लागि आफु मुख्य रुपमा गम्भीर भएर कार्य गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हजुर बुबादेखि आफुसम्म निरन्तर जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेकोले जनता आफु प्रति आकर्षित भइ जनताले अपार माया गरेर जिताएको बताउनु हुँदै उहाँले रौतहट –२ का जनताको  अवस्था बदल्न आफु एक कदमपछि नपर्ने बताउनुभयो ।

उहाँ यस निर्वाचनमा २९ हजार ५२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार किरण कुमार साह १८  हजार ४४२ मत प्राप्त गर्नुभएको छ ।

यस निर्वाचनमा उहाँ एघार हजार ८६ मतको अन्तरले विजयी हुनुभएको छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँ साहसँग चार हजार ५९४ मतको अन्तरले पराजित हुनुभएको थियो । सो निर्वाचनमा मो. आलमले २८ हजार २४८ मत ल्याउँदा साह ३२ हजार ८४२ मत ल्याई विजयी हुनु भएको थियो । त्यस बेला साह स्वतन्त्र उम्मेदवार हुनु हुन्थ्यो ।

अहिले सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मो. आलम निर्वाचित भएर आफ्नो विरासत समेत फर्काउनु भएको स्थानीय बताउनुहुन्छ ।

उहाँको हजुर बुवा शेख इद्रिश २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट रौतहट— २ मा विजयी हुनु भएको थियो ।

२०५१ सालको निर्वाचनमा पुनः विजयी हुनु भएका शेख इद्रिसको  २०५४ जेठमा निधनपछि भएको उपनिर्वाचनमा मो.आलमका बुबा मोहम्मद आफताव आलम विजयी हुनु भएको थियो । त्यसपछि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि उहाँ विजयी हुनुभयो । ०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मोहम्मद आफताव आलम भान्जा मोहम्मद मुस्ताकबाट तीन हजार ४५ को मतान्तरले पराजित हुनुभयो । ०७४ सालको निर्वाचनमा फेरि मोहम्मद आफताव आलम विजयी हुनु भएको  थियो  । ०७९ सालको निर्वाचनमा  आलम परिवारको विरासत नै गुम्न पुग्यो । स्वतन्त्र उम्मेदवार साह विजयी भएपछि आलम परिवारको बिरासत नै गुमेको थियो ।

३९ वर्षीय मो. आलम रौतहटको राजपुर नगरपालिका राजपुर फरहदवाका स्थानीय बासिन्दा हुनु हुन्छ । एमबीबीएस सम्मको अध्ययन गर्नु भएका उहाँले प्रहरी निरीक्षक प्राविधिक तर्फ तीन वर्ष काम गर्नु भएको छ ।