बीपी कोइराला नेपाली राजनीतिमा अग्लो कद भएको राजनीतिज्ञ हुनुहुन्थ्यो । बीपीकै समकक्षीका हिसाबले भारतमा यस्तो अग्लो कदको राजनीतिज्ञका रूपमा जवाहरलाल नेहरूलाई लिइन्छ । बीपी महात्मा गान्धीबाट प्रभावित हुनुहुन्थ्यो तर राजनीतिक जीवनमा भने नेहरूसित बढी उठबस थियो । लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानका कारण नेपालमा बीपी र भारतमा नेहरूलाई उच्च स्थानमा राख्ने गरिन्छ । राणाशासन अन्त्यको उद्घोष गर्दै २००३ सालमा भारतीय भूमिमा नै नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी कार्यवाहक सभापति हुँदा बीपी ३२ वर्षको हुनुहुन्थ्यो । बीपीका मित्र नेहरू भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुँदा ४० पुग्नुभएको थियो । २००७ सालमा मोहनशमशेर नेतृत्वको सरकारमा कांग्रेसको नेतृत्व गर्दै गृहमन्त्री हुँदा बीपी ३६ वर्षको हुनुहुन्थ्यो । नेहरू १९४७ मा भारत स्वतन्त्र भएपछि गान्धीको उत्तराधिकारीका रूपमा भारतको पहिलो प्रधानमन्त्री हुँदा ४७ वर्षको हुनुहुन्थ्यो । २०१६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर प्रधानमन्त्री हुँदा बीपी ४५ वर्ष टेक्नुभएको थियो ।
बीपी नेपालमा राणा शासन अन्त्य गरी जनतालाई अधिकारसम्पन्न गराउने र प्रजातन्त्र स्थापना गर्ने अभियानमा हुनुहुन्थ्यो र त्यसको अगुवाइ आफैँले गर्नुभएको थियो । भारतमा नेहरूलाई महात्मा गान्धीले आफ्नो उत्तराधिकारीका रूपमा जिम्मेवारीमा ल्याउनुभएको हो । कांग्रेसले २०१२ सालमा सुवर्णशमशेर राणालाई सभापतिमा निर्वाचित गराएर पार्टीलाई विविधत् रूपमा समाजवादी पार्टीका रूपमा चिनायो । भारतमा नेहरूले यसैताका भारतीय राष्ट्रिय कांग्रेसलाई समाजवादको लक्ष्य राखेको पार्टीका रूपमा चिनाएका थिए ।
नेहरूले भारतको स्वतन्त्रतापछि (सन् १९४७ देखि १९६४ सम्म) १८ वर्षसम्म एकछत्र प्रधानमन्त्रीका रूपमा शासन गर्नुभयो । बीपीले १५ वर्ष नेतृत्व गर्न पाए सबै नेपालीलाई आफ्नै हैसियतमा पु¥याउने सपना देखाउनुभएको थियो । बीपीको कार्यकाल जम्मा १८ महिना मात्रै रह्यो । गृहमन्त्री भएको समेत हिसाब गर्दा बीपी दुई वर्ष मात्रै सरकारमा रहनुभयो । प्रजातान्त्रिक व्यवस्थामा यसरी एकछत्र राज गरेको इतिहास भारतमा अरू कसैले बनाउन सकेका छैनन् । नेपालमा बीपी राजनीतिको केन्द्रबिन्दुमा त रहनुभयो तर नेहरूको जस्तो एकछत्र शासन गर्ने बीपीको सपना राजा महेन्द्रका कारणले पूरा हुन सकेन । नेहरू भारतको प्रधानमन्त्रीका रूपमा शासनसत्ता सञ्चालन गरिरहेका बेला बीपी भने निर्वाचित प्रधानमन्त्रीबाट सुन्दरीजलको बन्दीगृहमा बसेर साहित्य सिर्जना गर्दै हुनुहुन्थ्यो ।
बीपी र नेहरूका केही पेसागत समानता देखिन्छ । दुवै जना कानुनका विद्यार्थी । नेहरूले बेलायतबाट उच्च शिक्षा हासिल गरी केही वर्ष वकालती पेसा गर्नुभयो । बीपीले पनि भारतमा केही वर्ष वकालत गर्नुभयो । भारतको पहिलो र जननिर्वाचित प्रधानमन्त्री नेहरू नै हुनुभयो । बीपी पनि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री हुनुभयो ।
नेहरूको जन्मदिनलाई भारतमा बाल दिवसका रूपमा मनाइन्छ । भारतीय बालबालिका नेहरूलाई चाचा (काका) नेहरू भन्थे । नेहरूको निधनमा भारतमा हजारौँ बालबालिका रोएका थिए उहाँको शव सडकमा देखेर । बीपीलाई कार्यकर्ता बीपी बाबु भन्थे । नेपालमा भने कांग्रेसले आफ्ना संस्थापक बीपीको भदौ २४ मा जन्मजयन्ती र साउन ६ गते स्मृति दिवसका रूपमा मनाउँदै आएको छ । सरकारका तर्फबाट बीपीको कुनै दिवस मनाइँदैन । भारतमा नेहरूले छोरी इन्दिरा गान्धीलाई आफ्नै मन्त्रिपरिषद्मा मन्त्री बनाए तर बीपीले परिवारका सदस्यलाई पार्टीमा सहयोगीका रूपमा मात्र अघि सार्नुभयो । सिङ्गो परिवार नै राजनीतिमा सक्रिय हुँदा हुन्छ तर सत्ता र निर्वाचनमा परिवारका मानिससँगै जानु हुँदैन भन्ने मान्यता राख्नुहुन्थ्यो बीपी ।
बीपीले २०१५ सालको निर्वाचनमा कार्यकर्ताको व्यापक दबाबका बीच पनि मोरङका पार्टी सभापति आफ्नै भाइ गिरिजाप्रसाद कोइरालालाई टिकट दिनुभएन । दाजुभाइ नै निर्वाचन लड्दा पार्टीमा सकारात्मक सन्देश जाँदैन भनेर गिरिजाबाबुलाई चित्त बुझाउनुभएको रहेछ बीपीले । भारतजस्तो ठूलो प्रजातान्त्रिक मुलुकका प्रधानमन्त्री नेहरू सानो छिमेकी मुलुकको जननिर्वाचित प्रधानमन्त्री बीपीको व्यक्तित्वसित त्रसित भएको देखिन्छ ।
बीपीकै शब्दमा नेहरूमा चामत्कारिक गुण मात्र थिएन जनतासँग भावनात्मक सम्बन्ध पनि थियो । आफूमाथि नेहरूको पूर्ण सहयोग नभएको कुरा राजनीतिक रूपमा चतुर बीपीले नबुझ्ने कुरै भएन तर पनि बीपीको नेहरूप्रति ठूलो आस्था थियो । नेहरूको निधन भएको समाचार सुनेपछि सुन्दरीजलकै बन्दीगृहमा आफू धुरुधुरु रोएको बीपीले जेलजर्नलमा उल्लेख गर्नुभएको छ । ‘
नेहरूको निधन भएपछि मनमा हुक–हुक उठ्छ, कतिचोटि कोठामा आएर एक्लै रोएँ । रोएपछि लाग्थ्यो मनमा केही हलुको भयो, कस्तो आस्था, विश्वास र स्नेह रहेछ ममा तिनका प्रति । पितातुल्य भावमूर्ति बनाएर राखेको रहेछु तिनको मैले आफ्नो हृदयमा । लाग्छ, हामी माथिबाट एउटा छत्रछाया हट्यो ।’ बीपीले आफ्नो स्मरणमा उल्लेख गर्नुभएको छ । बीपी आश्चर्य व्यक्त गर्नुहुन्छ, तीन पिँढीलाई एकसाथ मोहित पार्न सक्ने क्षमता थियो उनमा । बीपीले एक पटक यो के जादू हो भनेर नेहरूलाई समेत सोध्नुभएछ । उहाँको सुसंस्कृत चेहरा, मर्यादायुक्त आचरण, मधुरो स्वर, जसमा पूर्वीय र पश्चिमी सभ्यताको सम्मिश्रण ध्वनिको बीपीले प्रशंसा गर्नुभएको छ ।
नेहरूको निधनपछि पार्टीको भविष्य के हुने भन्नेमा समेत बीपी चिन्तित देखिनुहुन्छ । बीपी लेख्नुहुन्छ, “निश्चय नै जवाहरलालजीको मृत्युले हिन्दुस्तानमा आधारित हाम्रो सङ्गठनलाई ठूलो धक्का लाग्यो होला । हाम्रो कठिनाइ यसले बढ्न गएको छ । उनीबाट केही मद्दत नभए पनि एउटा आधार मान्ने गरेका थियौँ हामीले उनलाई ।” २०२१ साल जेठ १४ गते नेहरूको निधन भएको थियो । नेहरूको राजा महेन्द्रसित राम्रो सम्बन्ध थियो । नेहरूको निधनपछि राजा महेन्द्रले नेपालले एउटा सच्चा एवं महान् मित्र गुमाएको भन्दै समवेदना दिनुभएको थियो भने सरकारले नेपालभर तीन दिनसम्म बिदा दिएको थियो ।
बीपी र नेहरूका बीचमा केही उतारचढाव देखिन्छ । बीपी प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्दा प्रधानमन्त्री नेहरू र छोरी इन्दिराले न्यानो स्वागत गर्नुभएको थियो । नेहरू पनि बीपी प्रधानमन्त्री निर्वाचित भएलगत्तै नेपाल भ्रमणमा आउनुभएको थियो । २०१२ सालमा राजा महेन्द्रले भारतको औपचारिक भ्रमणका बेला नेहरूलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो तर नेहरू २०१६ सालमा मात्रै नेपाल आउनुभयो । बीपी र नेहरूमा विश्व राजनीतिमा कसरी आफू प्रभावकारी बन्ने भन्ने होड थियो । संयुक्त राष्ट्रसङ्घलगायतका विश्वका महŒवपूर्ण राजनीतिक मञ्चलाई कसरी देशको हितअनुकूल प्रयोग गर्न सकिन्छ भन्नेमा बीपी असाध्यै सिपालु हुनुहुन्थ्यो । जानकारहरूका अनुसार नेहरू बीपीको भित्रभित्रै ईष्र्या गर्थे ।
बीपीलाई भनेको नमान्ने जिद्दी स्वभावको नेताका रूपमा चित्रण गर्थे नेहरूले । भारतभन्दा एक कदम अघि बढेर इजरायललाई मान्यता दिएको, राष्ट्रसङ्घमा चीनलाई सदस्यता दिन बीपीले आवाज उठाएको कुरा नेहरूलाई मन नपरेको हुन सक्छ । अझ त्यसमाथि विश्वस्तरका नेताले एसियामा उदाउँदो एक नवीन नेताका रूपमा बीपीलाई चित्रण गरेको कुरामा नेहरू सन्तुष्ट थिएनन् भन्ने सहजै बुझ्न सकिन्छ । बीपी समाजवादी नेताका रूपमा एसियामै उदाउनुभएको थियो । भारतजस्तो ठूलो प्रजातान्त्रिक मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री नेहरूको व्यक्तित्व पनि यसै फिँजारिएको थियो ।
भारतबाहिर नेहरूको राजनीतिक उचाइ भने ननएलाइन्ट मुभमेन्टले बनाएको थियो । फेरि भारतको घरेलु राजनीतिमा नेहरूसित भन्दा बीपी जयप्रकाश नारायणसित निकट हुनुहुन्थ्यो । यसले पनि नेहरू र बीपीबीच दूरी बढाउने काम गरेको थियो । जयप्रकाश नारायण अन्तर्राष्ट्रिय स्तरकै समाजवादी नेता हुनुहुन्थ्यो ।
आफू निर्वाचित प्रधानमन्त्रीका रूपमा एकछत्र शासन गर्दा नेहरूले भूगोलको हिसाबले सानो छिमेकी मुलुकमा नेपालका नवनिर्वाचित प्रधानमन्त्री बन्दीगृहमा बस्दासमेत वास्ता गरेको देखिँदैन । नेहरूको मात्रै बिमति रहेको भए बीपीलाई प्रधानमन्त्रीको कुर्सीबाट सिधै जेल हाल्ने साहस राजा महेन्द्रमा पक्कै आउँदैनथ्यो । राजनीतिक विश्लेषक प्रदीप गिरि आफ्नो स्मरणमा लेख्नुहुन्छ, “नेहरू आफूलाई पनि समाजवादी नेता भन्नुहुन्थ्यो । यसबाट नेहरूलाई पश्चिमी जगतले समाजवादी नेताको परिचय दिएको थिएन भन्ने आकलन गर्न सकिन्छ ।” जब कि बीपीको अन्तर्राष्ट्रिय स्तरमै समाजवादी नेताको छवि बनिसकेको थियो । भारतीय समाजवादी नेता जयप्रकाश नारायण पनि अन्तर्राष्ट्रिय स्तरकै समाजवादी नेताका रूपमा चिनिनुहुन्थ्यो ।
बीपीले छिमेकी मुलुक भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्रका लागि अनुकूल वातावरण बनेको भन्दै संसारको जुनसुकै मुलुकमा पनि प्रजातन्त्रका लागि चलेका आन्दोलनमा नैतिक समर्थन जनाउनुहुन्थ्यो । नेहरूले भने नेपालमा प्रजातन्त्रको सुदृढीकरण र बीपीसितको समन्वयलाई कुनै प्राथमिकता दिनुभएन । बीपीले राजा महेन्द्र र भारतमा नेहरूलाई विश्वासमा लिन धेरै महŒव दिनुभएको थियो । २०१६ सालमा निर्वाचित प्रधानमन्त्रीका रूपमा शपथ लिन बीपीलाई नेहरूको समर्थन चाहियो ।
त्यसका लागि बीपीले आफ्ना विश्वास पात्र सूर्यप्रसाद उपाध्याय (सूर्यबाबु)लाई प्रधानमन्त्रीमा शपथ लिनुअघि दिल्लीमा नेहरूलाई भेट्नसमेत पठाउनुभएको थियो । बीपीले दुवै जनाको विश्वास आर्जन गर्न सक्नुभएन । बीपीलाई नेहरूले साँच्चै सहयोग गरेको देखिएन । नेहरू त बीपीको जीवनपर्यन्त असहयोगी नै रहेको राजनीतिक विश्लेषक नै बताउँछन् । कांग्रेसको इतिहास पुस्तकका लेखक प्रा.राजेश गौतम पनि बीपी र नेहरूका बीच सुमधर सम्बन्ध नरहेको स्वीकार गर्नुहुन्छ ।
नेहरूले बीपीलाई उचित माया नगरेका मात्र होइन कतिपय अवस्थामा दाजु मातृकाप्रसाद कोइरालासित समेत झगडा नै गराउने गिरिजाप्रसाद कोइरालाले ‘आफ्नै कुरा’ कृतिमा उल्लेख गर्नुभएको छ । २००७ सालको राजनीतिक परिवर्तनपछि बीपी र मातृकाको बीचमा ठूलो मतभिन्नता देखिएको थियो । गिरिजाबाबुले सान्दाइ (बीपी) र मातृकाबाबु दुवै दिल्ली नजाँदासम्म सम्बन्ध ठीक हुने तर एक जना दिल्लीबाट फर्कनेबित्तिकै विवाद हुने गरेको सन्दर्भ उल्लेख गर्नुभएको छ । कतिपय बेला स्वयं गिरिजाबाबुले नै दुवै जनालाई सँगै दिल्ली जानुस् र नेहरूसित बसेर कुराकानी गरेर आउनुस् भनेरसमेत सुझाव दिनुहुँदो रहेछ ।
बीपी जम्मा ६८ वर्ष मात्रै बाँच्नुभयो । बीपी आफ्नो विचार, सिद्धान्तप्रति सधैँ अविचलित त रहनुभयो नै असल राजनीतिक संस्कार बसाउनसमेत योगदान गर्नुभयो । त्यसैले त बीपीलाई नभोगेको, नदेखेको अहिलेको पुस्ता पनि बीपीको विचार, दर्शनप्रति मोहित भइरहेको छ ।