दिपकप्रसाद गौतम
वीरगञ्ज (पर्सा), फागुन २२ गते । पर्सामा जारीरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणनामा शुक्रबार साँझ ७ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले सुरुवाती अग्रता कायम राख्नुभएको छ ।
जिल्लाका चारवटै क्षेत्रमा रास्वपका उम्मेदवारलाई अन्य दलका उम्मेदवारहरुले सुरुवातदेखि नै पछ्याई रहनु भएको छ । पर्सा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि बहादुर पन्त ४ हजार ५ सय ४९ मत ल्याएर अगाडि हुनुहुन्छ भने नेकपा एमालेका उम्मेदवार प्रदिप यादव २ हजार ४९ मत ल्याई दोश्रोमा अनि नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रूगंटा १ हजार ६ सय १९ मत प्राप्त गरी तेश्रो स्थानमा हुनुहुन्छ ।
पर्सा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुसिल साह कानु ६ हजार ७ सय २४ मत ल्याएर पहिलो स्थानमा अनि नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसिया २ हजार ८ सय मत ल्याएर दोश्रोमा र नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादव २ हजार ५ सय ७२ मत ल्याई तेश्रो स्थानमा हुनुहुन्छ ।
पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसिया ३ हजार ४ सय ५८ मत ल्याएर पहिलो स्थानमा, नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी १ हजार ६ सय २५ मत ल्याई दोश्रो स्थान, नेकपा एमालेका रूपेशकुमार पाण्डे १ हजार ४ सय ७ मत ल्याई तेश्रो स्थानमा रहनुभएको छ ।
पर्सा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्य १ हजार ४ सय १२ मत ल्याएर पहिलो स्थानमा ,नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल ६ सय ८ मत ल्याई दोश्रो स्थान र नेकपा एमालेका जालिम मियाँ ३ सय ५२ मत ल्याई तेश्रो स्थानमा हुनुहुन्छ ।
सुरुवाती अग्रता राष्ट्रिय स्वतन्त्र पार्टीका चारै जना उम्मेदवारहरुले यो समाचार तयार पर्दासम्म कायम राख्नु भएको छ । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा क्षेत्र नम्बर १ र २ को मत गणना भई रहेको छ भने क्षेत्र नम्बर ३ र ४ को पोखरियामा रहेको जिल्ला उच्चाङ्गल माध्यमिक विद्यालयमा भईरहेको छ । मतगणना शान्तिपुर्वक भईरहेको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताउनुभयो ।