• २३ फागुन २०८२, शनिबार

विश्वस्तरीय प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्दै चीन

blog

बेइजिङ, फागुन २२ गते । चीन सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा तीव्र विकास गर्दै विश्वस्तरमा प्रतिस्पर्धी बन्न तीन वटा अन्तर्राष्ट्रिय स्तरका विज्ञान-प्रविधि नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ ।

यो जानकारी चीन सरकारको वार्षिक कार्यप्रतिवेदनमा उल्लेख गरिएको छ, जुन देशको सर्वोच्च विधायिका समक्ष छलफलका लागि पेश गरिएको हो । उक्त प्रतिवेदनमा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई चीनको दीर्घकालीन आर्थिक तथा सामाजिक विकासको प्रमुख आधारका रूपमा अघि बढाइने स्पष्ट गरिएको छ ।

सरकारका अनुसार स्थापना गरिने ती तीन अन्तर्राष्ट्रिय नवप्रवर्तन केन्द्रलाई विश्वस्तरीय अनुसन्धान, प्रविधि विकास र नयाँ आविष्कारका प्रमुख केन्द्रका रूपमा विकास गरिने छ । ती केन्द्रले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन दिने, उच्चस्तरीय प्रविधि विकास गर्ने तथा नयाँ उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यससँगै चीनले सन् २०२६ देखि २०३० सम्म लागु हुने पन्ध्रौँ पञ्चवर्षीय योजनाको प्रारूप पनि प्रस्तुत गरेको छ । उक्त योजनामा कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि, जैव प्रविधि तथा नयाँ ऊर्जा जस्ता आधुनिक र भविष्यका लागि महत्वपूर्ण क्षेत्रहरूमा विशेष रणनीतिक योजना लागु गरिने उल्लेख गरिएको छ ।

यी क्षेत्रमा अनुसन्धान, लगानी र प्राविधिक विकासलाई प्राथमिकता दिँदै चीनले नयाँ प्रविधिमा आत्मनिर्भरता बढाउने, उच्च प्रविधिमा आधारित उद्योग विस्तार गर्ने र दीर्घकालीन आर्थिक विकासलाई बलियो बनाउने लक्ष्य राखेको छ । सरकारले विज्ञान तथा प्रविधिको विकासलाई राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने प्रमुख साधनका रूपमा लिँदै नवप्रवर्तनलाई केन्द्रमा राखेर भविष्यको आर्थिक संरचना निर्माण गर्ने नीति अघि सारेको जनाएको छ । रासस/सिन्ह्वा