• २३ फागुन २०८२, शनिबार

सुरक्षा र खनिज साझेदारीमा केन्द्रित कार्नीको जापान भ्रमण

blog

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी ।

टोकियो, फागुन २२ गते । इन्डो-प्यासिफिक क्षेत्रमा सुरक्षा सहकार्य, साइबर जोखिम र महत्त्वपूर्ण खनिज आपूर्तिबारे छलफल गर्न क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी शुक्रबार जापान पुग्नुभएको छ । टोकियोमा उहाँले जापानी समकक्षी साने ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

जापानी सञ्चारमाध्यमका अनुसार दुवै देश चिनियाँ र रूसी स्रोतबाट हुने साइबर आक्रमण सम्बन्धी खुफिया जानकारी थप आदान–प्रदान गर्ने, संयुक्त सैन्य अभ्यासलाई विस्तार गर्ने तथा महत्त्वपूर्ण खनिजको सुरक्षित आपूर्तिका लागि सहकार्य बढाउने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

कार्नी अस्ट्रेलियाको भ्रमण सकेर जापान आइपुग्नुभएको हो । क्यानबेरामा उहाँले इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनसँग असङ्गत देखिएको’ बताउनुभएको थियो, तर तेहरानलाई आणविक हतियार हाँसिल गर्न नदिन गरिएका प्रयासलाई भने समर्थन गर्नु भएको थियो ।

यसअघि जनवरीमा स्विट्जरल्यान्डको डाभोसमा भएको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विश्वले ‘विघटनतर्फ उन्मुख अवस्था’ देखिरहेको टिप्पणी गर्दै कार्नीले क्यानबेरामा ‘मध्यम शक्ति’ बिच अझ घनिष्ठ सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।

नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको बलियो समर्थक मानिने जापानका लागि पनि इरानसँग सम्बन्धित युद्धले जटिल परिस्थिति सिर्जना गरेको छ । जापान अमेरिकाको नजिकको सहयोगी राष्ट्र हो र यहाँ करिब ६० हजार अमेरिकी सैनिक तैनाथ छन् । यस क्षेत्रमा चीनले आफ्नो प्रभाव विस्तार गर्दै जाँदा टोकियोले सुरक्षा मामिलामा अमेरिकी सहयोगमा निर्भर रहँदै आएको छ ।

विश्वको चौथो ठूलो अर्थतन्त्र जापान तेल आयातका हिसाबले पाँचौँ स्थानमा पर्छ । उसले आयात गर्ने तेलको करिब ७० प्रतिशत होर्मुज जलडमरूमध्य हुँदै आउने भएकाले उक्त मार्गमा उत्पन्न अवरोधले जापानलाई प्रत्यक्ष असर पार्ने सम्भावना रहेको छ । प्रधानमन्त्री ताकाइचीले आगामी मार्च १९ मा वासिङ्टनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग हुने वार्तामा युद्ध सम्बन्धी विषयमा ‘स्पष्ट छलफल’ गर्ने योजना रहेको बताउनुभएको छ ।

ताइवान सम्बन्धी सम्भावित परिस्थितिमा जापानको भूमिकाबारे ताकाइचीले गत नोभेम्बरमा टिप्पणी गर्नुभएको थियो । त्यसपछि जापान–चीन सम्बन्धमा केही चिसोपन आएको बताइएको छ । चिनियाँ पर्यटकको सङ्ख्या घटेको छ भने ‘दोहोरो प्रयोग’ हुन सक्ने केही सामानहरूमा व्यापार प्रतिबन्ध पनि लगाइएको छ । यद्यपि बेइजिङले हालसम्म जापानलाई प्रत्यक्ष ठूलो नोक्सान पुग्ने कठोर कदम भने चालेको छैन ।

यसैबिच, चीन र क्यानाडाबिचको सम्बन्ध भने पछिल्ला महिनामा केही सहज हुँदै गएको छ । कार्नीले जनवरीमा चीन भ्रमण गरेर व्यापार सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो, जसले वर्षौदेखि चल्दै आएको गिरफ्तारी र कर विवादपछि सम्बन्ध सुधार्ने सङ्केत दिएको थियो । जापानसहित भारतलाई समेटिएको कार्नीको हालको भ्रमणलाई क्यानाडाले आफ्नो दक्षिणी छिमेकी संयुक्त राज्य अमेरिकामाथिको अत्यधिक निर्भरता घटाउने रणनीतिक प्रयासका रूपमा पनि हेरिएको छ ।

टोकियो विश्वविद्यालयका अन्तर्राष्ट्रिय सुरक्षा विषयका प्राध्यापक यी कुआङ हेङका अनुसार जापान क्यानाडाका लागि ‘मेनुमा नभई टेबलमै रहने’ साझेदार बन्ने कार्नीको इच्छासँग मेल खाने स्वाभाविक देश हो । उहाँका अनुसार दुवै देशले ताइवान स्ट्रेट हुँदै हुने नौसेना आवागमनसम्बन्धी समन्वय र पश्चिमी तथा उत्तरी प्रशान्त क्षेत्रमा भइरहेका रूसी/चिनियाँ बम वर्षक गस्तीबारे जानकारी आदान-प्रदान तथा निगरानीका विषयमा पनि छलफल गर्न सक्ने बताइएको छ ।

यसका अतिरिक्त क्यानाडाले जापान, इटाली र बेलायतबिच संयुक्त रूपमा विकास भइरहेको ‘ग्लोबल कम्ब्याट एयर प्रोग्राम (जिसिएपी)’ अन्तर्गत तयार हुने भविष्यका लडाकू विमान खरिदमा सम्भावित चासो पनि देखाउन सक्ने विश्लेषकको भनाइ छ । प्रधानमन्त्री कार्नीको यो भ्रमण छोटो रहने छ । उहाँ शनिबार क्यानाडा फर्कने कार्यक्रम रहेको छ । रासस/एएफपी