केदार तिमल्सिना
बनेपा, फागुन २२ गते । काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रता लिएको छ । शुक्रबार बिहानबाट सुरु भएको मतगणनामा रास्वपाका उम्मेदवार अन्य उम्मेदवार भन्दा अग्रस्थानमा रहनु भएको हो ।
क्षेत्र नम्बर-२ अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर–१ देखि ७ सम्मको मतगणना सकिँदा रास्वपाका उम्मेदवार बदनकुमार भण्डारीले पाँच हजार १११ मत प्राप्त गर्नु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका भण्डारी र नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्यान्जुबीच तीन हजार तीन मतान्तर रहेको छ। एमालेका उम्मेदवार दुई हजार १०८ मत प्राप्त गर्नु भएको छ।
धुलिखेल नगरपालिकाको सात वटा वडाको मत गणना सकिँदा नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले एक हजार १३२ मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बसुन्धरा हुमागाँईले ३३३ मत, राप्रपाका उम्मेदवार रन्जिव श्रेष्ठले २९१ मत, उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सन्ना सैजुले ३२२ मत प्राप्त गर्नुभएको छ ।
धुलिखेल नगरपालिकाका सात वडाको मत गणना सम्पन्न हुँदा नौ हजार ४०३ मत सदर भएको छ भने ४५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबीच प्रतिनिधि सभा क्षेत्र नम्बर-१ मा भएको मतगणना अनुसार हालसम्म यो क्षेत्रमा नेकपा एमालेमा उम्मेदवार अमि तामाङले १४५ मत, नेपाली काङ्ग्रेसका उम्मेदवार गुणराज मुक्तानले २५७ मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिनानाथ गौतमले ४०९ मत र रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईंले २७ मत प्राप्त गर्नुभएको छ ।