• २१ फागुन २०८२, बिहिबार

धनुषाका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

blog

धर्बेन्द्र झा

धनुषा, फागुन २१ गते । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको मतदानमा धनुषामा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान निर्वाचन कार्यालय मधेस प्रदेशले गरेको छ।

निर्वाचन कार्यालय मधेस प्रदेशका सूचना अधिकारी कृष्ण राउतका अनुसार धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आमनागरिकको उल्लेखनीय सहभागिता रहेको र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ।

मुख्य निर्वाचन अधिकृत सुवासबाबु पुरीका अनुसार अहिले मतपेटिका ढुवानीको काम भइरहेको छ। चारवटै निर्वाचन क्षेत्रका सम्पूर्ण मतपेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेर मतगणनाको विषयमा टुङ्गो लगाइने उहाँले बताउनुभयो।

उहाँले मतगणनाका लागि गणना स्थलमा तारजाली र सीसीटीभी जडान गरी सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। प्रत्यक्षतर्फको परिणाम २४ घण्टाभित्र ल्याउने निर्वाचन आयोगको घोषणाबमोजिम सबैको सहयोगमा जति सक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी रहेको उहाँको भनाइ छ।