• २१ फागुन २०८२, बिहिबार

बर्दिवासको प्रेमनगर मतदान केन्द्रमा झडप : चार घाइते, एकको अवस्था गम्भीर

blog

अजय शाह

गौशाला (महोत्तरी), फागुन २१ गते । महोत्तरीको बर्दिवास नगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय प्रेमनगर मा रहेको मतदान केन्द्रमा मतदानका क्रममा झडप हुँदा चार जना घाइते भएका छन्। झडपमा परी सन्जित सिंहको टाउकोमा गम्भीर चोट लागेको छ र उनको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

घटनामा सन्जित सिंह, रन्जित सिंह, विक्रम महतो, नागेन्द्र सिंह र भोरिल यादव घाइते भएका छन्। गम्भीर घाइते सन्जित सिंहलाई काठमाडौँ रिफर गरिएको छ भने अन्य घाइतेमध्ये केहीको स्थानीय सुभस्वतिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

घाइतेमध्ये अधिकांश नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रहेको बताइएको छ। घाइतेमध्येका भोरिल यादव भने नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।

अशक्त तथा बिरामी आफन्तको प्रतिनिधि बनेर एकै व्यक्तिले पटक–पटक मतदान गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो। उक्त विवादले उग्र रूप लिएपछि विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच हातहालाहाल र झडप भएको स्थानीयले जनाएको छ।

दुई पक्षबीच विवाद बढेपछि सो मतदान केन्द्रमा बिहान १०ः३० बजेदेखि मतदान प्रक्रिया अवरुद्ध भएको थियो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव का अनुसार साढे १० बजेदेखि स्थगित भएको मतदान दिउँसो १२ः४० बजेदेखि पुनः सुरु गरिएको थियो ।

विवाद समाधानका लागि बर्दिवास नगरप्रमुख प्रह्लाद क्षेत्रीसहितको टोली घटनास्थल पुगेपछि सर्वदलीय सहमतिमा मतदान पुनः सञ्चालन गरिएको प्रशासनले जनाएको छ।