बेइजिङ, फागुन २१ गते । चीनले सन् २०२६ का लागि आफ्नो रक्षा बजेट ७ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव सार्वजनिक गरेको छ । राष्ट्रिय विधायिकामा प्रस्तुत गरिएको बजेट प्रतिवेदन अनुसार आगामी वर्ष चीनले करिब १।९ ट्रिलियन युआन अर्थात् झण्डै २७५ अर्ब अमेरिकी डलर रक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ ।
पछिल्ला वर्षमा पनि चीनले आफ्नो रक्षा बजेट स्थिररूपमा बढाउँदै आएको छ । सन् २०२३, २०२४ र २०२५ मा पनि रक्षा बजेट वृद्धि दर करिब ७।२ प्रतिशत रहेको थियो, जसले लगातार धेरै वर्षदेखि एक अङ्कको वृद्धि दर कायम रहेको देखाउँछ । चिनियाँ अधिकारीका अनुसार देशको राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न, सैन्य क्षमताको आधुनिकीकरण गर्न र बदलिँदो अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिसँग सामना गर्न रक्षा बजेट वृद्धि आवश्यक भएको बताइएको छ ।
चीनले लामो समयदेखि आफ्नो रक्षा खर्च कुल गार्हस्थ उत्पादनको करिब १।५ प्रतिशतभन्दा कम राख्दै आएको जनाएको छ, जुन विश्वका धेरै देशको तुलनामा कम रहेको दाबी गरिएको छ । सरकारी प्रतिवेदनमा चीनले आफ्नो सार्वभौम सत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय हितको रक्षा गर्न सैन्य शक्ति सुदृढ गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । साथै, देशको सेना आधुनिकीकरण गर्ने, प्रविधि विकास गर्ने र सुरक्षा क्षमतामा सुधार ल्याउने उद्देश्यले पनि बजेट वृद्धि गरिएको बताइएको छ ।
यसैबिच विश्वका धेरै देशले पनि पछिल्ला वर्षमा बढ्दो भू-राजनीतिक तनाव र सुरक्षा चुनौतीका कारण रक्षा बजेट बढाउँदै आएका छन् । उदाहरणका रूपमा जापानले पछिल्ला वर्षमा लगातार आफ्नो रक्षा बजेट बढाउँदै आएको छ र आगामी वर्षमा पनि सुरक्षा क्षेत्रमा ठूलो लगानी गर्ने योजना बनाएको बताइएको छ ।
चीनले भने आफ्नो सैन्य नीति रक्षात्मक प्रकृतिको रहेको दोहोर्याउँदै आएको छ । चिनियाँ अधिकारीले देशले विश्व शान्ति कायम राख्न, क्षेत्रीय स्थिरता मजबुत बनाउन तथा अन्तर्राष्ट्रिय सहयोगलाई प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । रासस/सिन्ह्वा