काठमाडौँ, फागुन २१ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताउनुभएको छ ।
चितवनमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र रोल्पा पुग्नुभएका प्रचण्डले यस्तो बताउनुभएको हो । एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशङ्का चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको उहाँको भनाइ छ ।
उहाँले निर्वाचन सम्पन्न गर्ने नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको छ। आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्दछु।’