वर्तमान समाज व्यवस्थाभित्रका विभिन्न क्रियाकलाप एवं निकायमा महिलाको सहभागिता तथा नेतृत्वको बहस भइरहेको छ । समाज विकासको ऐतिहासिक विकासक्रम केलाउने हो भने आजभन्दा करिब चार हजार वर्ष पुरानो प्राचीन समाज व्यवस्थामा पनि विभिन्न आर्थिक तथा राजनीतिक क्रियाकलाप एवं निकायमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरेको तथ्य त्यसबेला सिर्जित ऐतिहासिक सन्दर्भले प्रस्तुत गरेको देखिन्छ ।
त्यही प्राचीन समाज व्यवस्थाको प्रतिविम्ब प्रदान गर्ने ऋग्वेद तथा अथर्ववेद संहितामा सङ्गृहीत भएका विभिन्न ऋचाले वेदकालीन सामाजिक संरचनाभित्र विद्यमान विभिन्न निकाय तथा क्रियाकलापमा महिलाको उच्च सहभागिता एवं नेतृत्वदायी भूमिका रहने गरेको तथ्य उजागर गरेका छन् । वेदकालीन समयमा साधनस्रोतको स्वामित्व विस्तारदेखि लिएर सीमा विस्तार, वंश विस्तार, वाणिज्य व्यापारलगायतका विभिन्न क्षेत्रमा महिलाले सहभागिता जनाएको मात्र नभई नेतृत्व नै गरेका थुप्रै दृष्टान्त वेदका ऋचाले प्रस्तुत गरेको देखिन्छ । पुरुषसँगै महिला पनि युद्ध तथा द्वन्द्व कार्यमा संलग्न हुने गरेका थुप्रै दृष्टान्त भेटिन्छन् ।
ऋग्वेदको १० औँ मण्डल अन्तर्गत रहेको ८६ औँ सूक्त अन्तर्गतको पाँचौँ ऋचामा ऋषिका इन्द्राणीले आफूलाई मन पर्ने पदार्थ दूषित गराइदिएको रिसमा वृषकापीको टाउको छिनाइ दिऊँ जस्तो लागेको छ... भन्ने भाव व्यक्त गरेको देखिन्छ । त्यसै गरी ऋग्वदेको १० औँ मण्डलको एक सय दुई सूक्तको दोस्रो ऋचामा मृदुगल ऋषिले सङ्ग्राम क्षेत्रमा रथमा चढेर मृदुगल ऋषिकी पत्नी इन्द्रसेनाले हजारौँ गाईमाथि विजय प्राप्त गर्दा उनको वस्त्र वायुले मास्तिर उडायो । गाईमाथि विजय प्राप्त गर्ने बेलामा उनी सारथि भइन् । तिनैले सङ्ग्राममा शत्रुको अधिकार क्षेत्रबाट गाई छुटाएर ल्याएकी हुन्... भन्ने भाव व्यक्त गरिएको छ ।
यस भावमा मृदुगल ऋषिपत्नी पशुपालन तथा जीविकाको प्रमुख साधन गाई कब्जा गर्न युद्धमा सहभागी भएको युद्धमा रहँदा वस्त्र उठेको, गाईमाथि विजय प्राप्त गर्ने बेला उनी सारथि बनेको, शत्रुको पहुँचबाट गाई छुटाएर ल्याएका तथ्य प्राप्त हुन्छन् । ऋग्वेदको १० औँ मण्डलको एक सय दुई सूक्तको छैटौँ ऋचामा मृदुगल ऋषिले आफ्नी पत्नी युद्ध क्षेत्रमा रहेर
गोरुगाढालाई प्रोत्साहित गरेको, सुसज्जित सेना मृदुगल्नीको पछि कुदेको भाव व्यक्त गरिएको छ ।
यस्तै ऋग्वेदको १० औँ मण्डलको एक सय दुई सूक्तको ११ औँ ऋचामा मृदुगल ऋषिले त्यागिएकी स्त्रीजस्ती मृदुगल्नीले मेघ झैँ वाणको वर्षा गर्दै शक्ति प्रदर्शन गरेर आफ्ना पतिको धन ग्रहण गरिन् भनिएको छ । यी भावमा महिला पात्र ऋषिका इन्द्राणीले टाउको छिनाउने कुरा गरेको देखिएबाट वेदकालीन समयमा नारीहरू युद्ध तथा द्वन्द्वमा पनि संलग्न हुन्थे तथा साधनस्रोतमाथि अधिकार स्थापित गर्न युद्ध र द्वन्द्वमा समेत सेनानीका रूपमा संलग्न भएर भूमिका निर्वाह गर्दथे भन्ने देखिन्छ । त्यस समयमा स्त्री शक्ति प्रदर्शन कार्यमा पनि संलग्न हुने गरेको तथ्य उल्लिखित ऋचा भावबाट थाहा हुन्छ ।
राजनीतिमा नारीको संलग्नता
वेदकालीन समयमा महिलाले घरपरिवारको नेतृत्व गर्ने, परिवारका सदस्यलाई नियन्त्रण गर्ने, राजनीतिक एकाइमा रहेर कार्य गर्ने, सभाको सदस्य बन्ने गरेका सन्दर्भले त्यस समयमा महिला राजनीतिक नेतृत्वमा पनि सहभागी हुने गरेको तथ्य जाहेर हुन्छ ।
वेदकालीन समयमा सभाले गाउँ परिषद्को कार्य गर्दथ्यो । गाउँ परिषद्को कार्य गर्ने सभा नामको राजनीतिक एकाइमा महिलाको अनिवार्य सहभागिता रहने गर्दथ्यो । ऋग्वदेको १० औँ मण्डलको ८५ औँ सूक्तको २६ सौँ ऋचामा ऋषिका सूर्याले “तिमी आफ्ना पतिका घर प्रस्थान गर । त्यहाँ तिमी गृहस्वामिनी र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने बन, विवेकपूर्ण वाणीको प्रयोग गर ...।” भन्ने भाव व्यक्त गरेका छन् । यसले वेदकालीन समयमा महिलाले घरपरिवारको नेतृत्व गर्दथे । घरपरिवार सञ्चालन गर्न आवश्यक पर्ने नीतिनियम निर्माण र लागू गर्दथे भन्ने तथ्य प्राप्त हुन्छ ।
वेदकालीन समयमा विदथ, सभा, समितिलगायतका विभिन्न राजनीतिक एकाइ रहेका थिए । विदथलाई गाउँ परिषद्का रूपमा बुझिन्थ्यो र त्यस विदथ नामको राजनीतिक एकाइमा पुरुष सरह महिलाले सहभागिता जनाउने, आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार थियो ।
ऋग्वेदमा आठ पटकसम्म सभा, नौ पटकसम्म समिति र एक सय बाइस पटकसम्म विदथ भन्ने शब्दको प्रयोग भएको छ । त्यसै गरी अथर्ववेदमा सत्र पटकसम्म सभा, तेह्र पटकसम्म समिति र बाइस पटकसम्म विदथ भन्ने शब्द प्रयोग भएको सन्दर्भ पाइन्छ । विद्वान् रामशरण शर्माले ऋग्वेदको पहिलो मण्डलको १६१ औँ सूक्तको तेस्रो ऋचालाई सन्दर्भ दिँदै महिलाले सभामा सहभागी हुने, समितिमा बस्नेसमेत गर्दथे भन्ने तथ्य उल्लेख गरेका छन् ।
वेदकालीन परिवारमा स्त्रीहरू घरको साम्राज्ञी बन्दथे, गृहस्थ धर्म पालन गर्दथे, पति तथा सन्तानको पालनपोषण गर्दथे भन्ने तथ्य प्राप्त भएबाट नै त्यस समयमा स्त्री घरपरिवार सञ्चालन गर्न विभिन्न उत्पादन तथा श्रममूलक कार्यमा सहभागी हुन्थे भन्ने सूचना ऋग्वेद तथा अथर्ववेदका निम्न ऋचाले स्त्रीको श्रम संलग्नतालाई अझ बढी प्रस्टाएको देखिन्छ ।
ऋग्वेदको नवौँ मण्डलको ११२ औँ सूक्तको तेस्रो ऋचामा अङ्गीरस ऋषिले माता र कन्याहरू पिस्ने काम गर्दछन् । हामी सबै भिन्न भिन्न कार्य गर्दछौँ... भन्ने भाव व्यक्त गरेको देखिन्छ ।
त्यसै गरी अथर्ववेदको १४ औँ काण्डको पहिलो सूक्तको ४५ औँ ऋचामा जुन स्त्रीले धागो काते झैँ गरी वस्त्ररूपी व्यवहारलाई विस्तृत गराएका छन् र जसले चारैतिरबाट अन्तिम भागलाई उचित किसिमले बनाउँछन् तिनीहरू नै वृद्ध अवस्थासम्म तिम्रा हाम्रा लागि उचित वस्त्रको व्यवस्था गर्न सफल होऊन् । हे देवीहरू ! तिमीहरू पनि दीर्घायु भएर यो वस्त्र धारण गर भन्ने भाव व्यक्त भएको छ ।
माथि उल्लेख भएको भावबाट वेदकालीन परिवारमा महिला र पुरुषका भिन्न भिन्न काम हुने गरेको, श्रम विभाजन व्यवस्थित भएको, त्यसमध्येमा माता तथा कन्यारूपी महिलाहरू अन्न पिसेर खाद्य पदार्थ तयार गर्ने कार्यमा संलग्न हुने गरेको देखिन्छ । वेदकालीन परिवारमा स्त्री धागो कात्ने काममा संलग्न हुन्थे । वस्त्र उद्योग चलाउने काममा महिलाको जिम्मेवारी हुन्थ्यो । परिवारका सदस्यका लागि वस्त्र व्यवस्था पनि महिलाले गर्थे । पुरुषलाई उत्पे्ररित गराई कार्य गराउन योग्य बनाउँदै अन्न उत्पादन, दुध उत्पादन कार्यमा पनि महिला सहभागी हुने गर्थे ।