चौमाला समाचारदाता
चौमाला (कैलाली), फागुन १८ गते । कैलालीको घोडाघोडी–८ जरैटोल कटान शिविरका मतदाताले खानेपानीको व्यवस्थापन गर्नेलाई मत दिने बताएका छन् । कटान शिविरका बासिन्दाले बर्सौंदेखि खानेपानीको चरम अभाव झेल्दै आएका छन् । मत माग्न आउने उम्मेदवारलाई पानी व्यवस्थापन गरिदिनेलाई मत दिने जवाफ दिने गरेका छन् ।
खानेपानी र सडक समाधान गर्ने उम्मेदवारलाई मात्र मत दिने स्थानीय पवित्रा विकले बताउनुभयो । हामीले हरेक उम्मेदवारसित आफ्ना समस्या सुनाएका छौँ । उहाँले भन्नुभयो, “नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार वीरमान चौधरीलाई पनि यही माग राख्यौँ ।”
विकले यहाँ स्थानीय, प्रदेश र सङ्घका उम्मेदवार जितेपछि फर्केर नआउने समस्या रहेको चर्चा गर्नुभयो । उम्मेदवार चौधरीले आफू पहिलो पटक क्षेत्रमा समेत उम्मेदवार भएर आएपछि समस्या थाहा पाएको आगामी दिनमा यी समस्या समाधान गर्नमा ध्यान दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “म २०६४ सालमा तत्कालीन ३ को हालको घोडाघोडीबाहेकको क्षेत्रबाट जिते, २०७४ मा यही क्षेत्रको क क्षेत्रबाट प्रदेश सभाबाट जिते, पूर्वपश्चिम राजमार्गको छेउमै रहेको यहाँको यस्तो समस्या देख्दा अचम्म लागेको छ ।”
कैलालीको सुगम जिल्लाभित्रै पर्ने घोडाघोडी नगरपालिका वडा नं. ८ को जरैटोलमा खानेपानी, बाटो, टेलिफोन र स्वास्थ्य सेवा जस्ता आधारभूत आवश्यकता नपुग्दा स्थानीय मत माग्न आउने उम्मेदवारसँग आक्रोशित हुने गरेका छन् । उक्त बस्तीका करिब पाँच सयभन्दा बढी घरधुरी बर्सौंदेखि खानेपानी, बाटो, टेलिफोन र स्वास्थ्य सेवाको अभाव झेल्दै आएका छन् ।
बस्ती अग्लो स्थानमा रहेकाले जमिनको पानी सुक्ने, दैनिक उपभोगका लागि पानी लिन टाढा जानुपर्ने बाध्यता रहेको स्थानीय सङ्गीता वडले बताउनुभयो । गर्मीयाममा झनै समस्या हुने गरेको उहाँको भनाइ छ ।
पानीको समस्या समाधानका लागि विभिन्न निकायमा धाउँदा पनि समाधान नभएपछि टोलवासी सशक्त रूपमा मत माग्न आउने उम्मेदवारलाई आफ्नो माग राख्दै आएका छन् ।
गाईवस्तुका लागि पनि पर्याप्त पानी नहुने यस टोलका स्थानीयले यस पटक खानेपानीलार्ई चुनावी मुद्दा बनाएका छन् । सधैँ आश्वासन मात्र पाउने तर मतदानपछि धोका पाएका कारण मत माग्न आउने नेतासँग एउटै स्वरमा माग राख्दै आएका छन् ।
प्रत्येक निर्वाचनमा विकासको नारा लगाउँदै पुग्ने उम्मेदवार फेरि फर्केर नआउने भएपछि यो पटक सोच्नपर्ने अवस्था आएको जानकी ठकुल्लाले बताउनुभयो ।
उहाँले वर्षायाममा हिलाम्मे र सुक्खायाममा धुलाम्मे सडकका कारण आवतजावतमा कठिनाइ हुने गरेको बताउनुभयो ।
टेलिफोन नलाग्ने आपत्कालीन अवस्थामा समेत सम्पर्क गर्न कठिन हुने अवस्था रहेको छ । सुगम जिल्लामै पनि सञ्चार सेवाबाट वञ्चित हुनु परेको भन्दै स्थानीयले असन्तुष्टि छन् ।
कटान शिविरमा विगतदेखि खानेपानीको समस्या रहेको र अहिले खानेपानी योजनाको काम भइरहेकोे वडा सदस्य लालबहादुर चौधरीले बताउनुभयो । स्थानीयवासीले चुनावका बेला नेताहरूले आश्वासन दिने तर कार्यान्वयन नगर्ने आरोप लगाएका छन् । अब भने समस्या समाधानका गर्ने उम्मेदवारलाई मात्र बुझेर मत दिने टोलवासीको भनाइ छ ।