फडिन्द्र अधिकारी
लेखनाथ (कास्की), फागुन १८ गते । भारतसँग सीमा जोडिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) देखि चीनको तिब्बत छुने कोरला नाका समेटिएको गण्डकी प्रदेशमा २४ लाख ६६ हजार मानिसको बसोबास छ । यही फागुन २१ गते हुने आमनिर्वाचनमा यस प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन् । निर्वाचनकेन्द्रित हुँदै दलले विभिन्न नाममा जारी गरेका घोषणापत्रमा पर्यटन, सुशासन र प्रविधिमार्फत प्रदेशको समृद्धि हासिल गर्ने उल्लेख छ ।
देशको जनसङ्ख्याको ८.४६ प्रतिशत र भूगोलको १४.८ प्रतिशत समेट्ने गण्डकीमा ११ जिल्ला छन् । मनाङ, मुस्ताङ हिमाली जिल्ला हुन् भने गोरखा, म्याग्दीका केही भाग पनि हिमाली क्षेत्रमा पर्छन् । १८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा २३४ उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेसको दुई सय पृष्ठको प्रतिज्ञापत्रमा १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याएर दिगो पर्यटन विकास गर्दै राष्ट्रिय अर्थतन्त्रको आधार तय गर्ने जनाइएको छ ।
योग, ध्यान, आयुर्वेद र जडीबुटीलाई एकीकृत गरी आरोग्य नेपाल अभियानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा चलाउने र ‘आध्यात्मिक राजधानी’ का रूपमा ब्रान्डिङ गर्ने कांग्रेस प्रतिज्ञापत्रमा उल्लेख छ । सामुदायिक घरवास (होम स्टे) र सहरी घरवाससँगै प्रमुख पर्यटकीय गन्तव्यमा स्थानीय परम्परा झल्किने सांस्कृतिक ‘भिलेज’ बनाउने कांग्रेसको योजना छ ।
सांस्कृतिक र आध्यात्मिक अनुसन्धानका लागि पोखरामा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गर्नेदेखि मुक्तिनाथ, जनकपुर र लुम्बिनीलाई हवाई र सडक सञ्जालले जोडी एकीकृत पर्यटकीय सर्किट बनाउने एजेन्डा यसमा छन् । पर्यटन सेवा डिजिटल गरी एकीकृत एआई पोर्टलबाट अनुमति, जानकारी, गुनासो र सेवा उपलब्ध गराउने कांग्रेसको वाचा छ । पोखरा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सिधा उडान सम्पर्क गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने कांग्रेसको वाचा छ । कांग्रेसले काठमाडौँ–पोखरा–लुम्बिनी विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने, साहसिक पर्यटनतर्फ प्याराग्लाइडिङ, ¥याफ्टिङ, कायकिङ र क्यानोनिङ जस्ता खेललाई व्यावसायिक बनाउने योजना पनि लिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ल्याएको ८० पृष्ठको चुनावी घोषणापत्रमा ‘पर्यटकको वृद्धि, लामो बसाइ, गाउँ, सहरमा काम र कमाइ’ नारा अघि सारिएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुविधा विस्तार गर्दै लक्जरी रिसोर्ट, इकोलज र वेलनेस सेन्टर निर्माण तथा सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने एमालेको नीति छ । पाँच वर्षभित्र पर्यटक आगमनलाई दोब्बर बनाउने र नेपाललाई विश्व पर्यटन बजारमा एक विशिष्ट गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने एमालेको लक्ष्य छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रतिबद्धतापत्रमा काठमाडौँ–पोखरा रेलमार्गको निर्माण प्रक्रिया अगाडि बढाइने उल्लेख छ । बुटवल, पोखरा र नारायणगढ जोड्ने त्रिभुज आर्थिक परियोजना तथा जलविद्युत् विकासलाई प्राथमिकता दिने नेकपाको वाचा छ । हरेक जिल्ला र पालिकाको पर्यटन प्रोफाइल बनाउने, डिजिटल माध्यमबाट गन्तव्य, मार्ग, सेवा र स्थानीय व्यवसायको तथ्याङ्क उपलब्ध गराइने यसमा जनाइएको छ ।
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारदेखि कम चढिएका हिमाल आरोहण प्रवर्धनको योजना पनि नेकपाको छ । मुक्तिनाथ, देवघाट, बागलुङ कालिका, मनकामनालगायतका क्षेत्रमा सडक, केबलकारलगायतका पूर्वाधार निर्माण गर्ने नेकपाको योजना छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वाचापत्र नाममा चुनावी एजेन्डा सार्वजनिक गरेको छ । रास्वपाले पर्यटक र प्रतिव्यक्ति खर्च दुवै पाँच वर्षमा दोब्बर बनाउने योजना अघि सारेको छ । रास्वपाले देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु–बौद्ध महिमालाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवर्धन गर्न विशेष पूर्वाधार निर्माण गर्ने वाचा गर्दै विश्वकै प्रमुख पर्वतारोहण प्रशिक्षण केन्द्रका रूपमा ‘माउन्टेन स्कुल’ बनाउने जनाएको छ । उच्च हिमाली उद्धार र चिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय एकेडेमी सञ्चालनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउने योजना रास्वपाको छ ।
राप्रपाको सङ्कल्पपत्रमा प्राकृतिक तथा धार्मिक पर्यटनलाई प्रवर्धन गरी विदेशी मुद्रा आर्जन र रोजगार सिर्जना गर्ने जनाइएको छ । पदयात्रासम्बन्धी अनुमति प्रक्रियामा रहेको झन्झटिलो व्यवस्था अन्त्य गरी पर्यटनमैत्री एकद्वार प्रणाली लागु गर्ने राप्रपाको प्रतिबद्धता छ । निर्वाचन क्षेत्रपिच्छे उम्मेदवारले स्थानीय समस्या र सम्भावना समेटेर प्रतिबद्धतापत्र बनाएका छन् । मुस्ताङका उम्मेदवारले कोरला नाकासम्म पुग्ने सहज सहज बनाउने, जलवायु सङ्कटका समस्या समाधान गर्ने वाचा गरेका छन् । मनाङका नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले जिल्लामै रोजगारीको सम्भावना खोजीदेखि अहिलेसम्म सडक नपुगेको नार्पाभूमि गाउँपालिकामा बाटो पु¥याउन पहल गर्ने वाचा गर्नुभएको छ ।