• १७ फागुन २०८२, आइतबार

दह्रो प्रतिस्पर्धामा प्रमुख नेता

blog

काठमाडौँ, फागुन १७ गते । ‘नम्बरी सुनलाई कसी लगाउन पर्दैन’ नेपाली समाजको यो कथन दलका ठुला नेताको मामिलामा कमजोर ठहरिएको छ । दशकौँदेखि नेपाली समाजमा खारिएर आएका नेपालका राजनीतिक दलका ठुला नेता कसी लाउन नपर्ने नम्बरी सुन झैँ जनताले झट्ट पत्याइहाल्ने अवस्थामा देखिएका छैनन् ।

आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनको देशव्यापी माहोल हेर्दा राजनीतिक दलका नयाँ, पुराना सबै शीर्ष नेता यस पटक जनतामाझ माझिएर आउनुपर्ने जबरजस्त कसीमा परेका छन् । 

ठुला राजनीतिक दलका प्रमुख नेता नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका इलाकामा आफ्नो जित सुनिश्चित गर्न भरमग्दुर कोसिस गरिरहेका भेटिन्छन् । पूर्वी नेपालको झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली हरेक दिन जसो जनताको ढोकामा पुगिरहनुभएको छ । विगतका निर्वाचनमा उहाँको प्रचारप्रसार दमक बजारको केन्द्र र आसपासका क्षेत्रमा सीमित हुने गरेको थियो । यस पटक नयाँ प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले उक्त क्षेत्रमा उम्मेदवारी दिनुभएसँगै युवा र पुराना मतदाताको झुकाव आफूतिर पार्न एमाले अध्यक्ष ओली मत फर्काउन हरेक मतदाताकहाँ पुग्नैपर्ने दबाबमा पर्नुभएको स्थानीय चित्राखर रिजाल बताउनुहुन्छ । ओलीको दौँतरीका रूपमा बर्सौंसम्म जति गल्ती गर्दा पनि आफूले ओलीलाई मत दिएर सहयोग गरेको स्मरण उहाँको छ तर यस पटकको माहोलले विकल्प खोजेकाले जनतामाझ पुगेर फकाउनुको विकल्प उहाँसामु नरहेको टिप्पणी रिजाल गर्नुहुन्छ । 

ओली निरन्तर घरदैलोमा पुगेर मतदाता फकाउन थालेपछि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई पनि दबाब छ । पहिले जोसुकैले बालेन बालेन भन्ने मत फेरि सोहोरिएर ओलीतिरै फर्कने अनुमान स्थानीय अमर तामाङ गर्नुहुन्छ । 

झापाको विगतको मतगणनाको प्रवृत्ति हेर्ने हो भने एमालेको उम्मेदवारका रूपमा ओलीले ठुलो मतान्तरले अन्यलाई पराजित गर्नुभएको देखिन्छ । अहिले पनि उक्त क्षेत्रमा एमालेको २६ हजारभन्दा बढी मत रहेको अनुमान छ । त्यसमा नयाँ मतदाता अन्य दलका उम्मेदवारबाट काटिएर आउने मत ओलीलाई नै खस्दा सहज जित हुने उहाँ पक्षधरको दाबी छ । त्यहाँ नेपाली कांग्रेसको १२ हजार, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीको पाँच/पाँच हजार मत रहेको अनुमान छ । 

निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा एक लाख ६३ हजार ३८९ मतदाता रहेका छन् । यस हिसाबले पनि सबै पक्षको मत बढेको अनुमान गर्न सकिन्छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी मन्दरा चिमरिया, नेकपाका रञ्जित तामाङ, राप्रपाका लक्ष्मीप्रसाद सङ्ग्रौलासहित ३९ उम्मेदवार हुनुहुन्छ । 

मधेशी मतदाता रिझाउँदै गगन 

अलि वर मधेशको केन्द्रमा नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा मतदातामाझ आफ्नो शक्ति प्रदर्शन गर्न छाड्नुभएको छैन । मधेशी किसान र व्यापारिक वर्गको वर्चस्व रहेको उक्त क्षेत्रमा पहिलो पटक ठुला दलका ठुला नेता र पहाडी मूलका उम्मेदवार आएकाले मतदाता एकपल्ट उहाँका लागि सोच्ने कि पुरानै मधेशी नेतालाई दिने भन्ने दोधारमा छन् । त्यसैले पनि थापालाई मतदाता रिझाउनुपर्ने दबाब छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उहाँलाई टक्कर दिइरहनुभएका पुराना मधेशी नेता अमरेशकुमार सिंहलाई त्यहाँका मानिसको स्वभाव र संस्कारको पूर्ण ज्ञान छ । त्यसैले साम दाम दण्ड भेद प्रयोग गरेर मतदाता आफ्नो पक्षमा पार्ने भन्ने ज्ञान उहाँलाई रहेकाले कांग्रेस सभापति थापालाई सहज नभएको बरहथवाका नरेन्द्रबहादुर गौतम औँल्याउनुहुन्छ । नयाँ आएका दलबाट पहिलेकै पार्टीबाट छाडेका मानिस आएका छन् । उहाँ भन्नुहुन्छ, “नयाँले साँच्चै नयाँको विकल्प दिएनन्, पुरानाले पनि नयाँ दिएनन् । त्यसैले जनताले यसपाला कसले कसलाई कहाँ मत दिन्छन् भन्नेमा दुबिधा नै छ ।”

उक्त निर्वाचन क्षेत्रमा एक लाख २१ हजार १२ मतदाता रहेका छन् । जसमा अधिकांश मधेशी दल र नेपाली कांग्रेसको वर्चस्व विगतमा रहिआएको थियो । नेकपा (एमाले) को छ हजार हाराहारीको मत आफ्ना उम्मेदवारसँगै नयाँ भनिएका दलका नेतालाई वा कांग्रेसलाई वा मधेशी दलकै नेतालाई जता पनि जान सक्ने अवस्थामा छ । त्योबाहेक पुराना दलका नेतासँग रुष्ट रहेका मतदाता फकाउन उम्मेदवारलाई सहज भने देखिएको छ । दुई नेतासहित नेकपा (एमाले) का अमनिसकुमार यादव, नेकपाका रजनीश राय, राप्रपाका प्रदीपकुमार झालगायत ३८ जनाको उम्मेदवारी छ । 

पूर्वप्रम नेपाललाई सकस

यता रौतहट निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल यस पटक नयाँ र पुराना दलका उम्मेदवारसँगै मतदाताको उच्च दबाबमा हुनुहुन्छ । पुरानो दल हुँदा पटक पटक सोही क्षेत्रमा अत्यधिक मतले चुनाव जित्नुभएका उहाँलाई यस पटकको माहोलमा मतदातासँगै दिनहुँ ठोक्किँदा पनि जितको हाराहारीको मत ल्याउन गाह्रो रहेको मतदाता नै ठोकुवा गर्छन् । परिवर्तन चाहेको नयाँ पुस्तामाझ उहाँले पुरानो दल एमालेका अजयकुमार गुप्ता, नेपाली कांग्रेसका अनिलकुमार झा, रास्वपाका राजेशकुमार चौधरीसहित ३८ जनासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । स्थानीय डाकुरनाथ खतिवडा भन्नुहुन्छ, “नयाँलाई देख्नै नसक्ने, सधैँ आफू भइरहनुपर्ने भन्ने मानसिकताले कसरी देश अघि बढ्छ ? मतदाता अब पहिले जस्ता छैनन् ।”

अघिल्लो निर्वाचनदेखि राजनीतिक मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि चितवन निर्वाचन क्षेत्र नं. २ बाट यस पटक चुनावी प्रतिस्पर्धामा मत खोसाखोसमा पर्नुभएको छ । विगतका निर्वाचनमा त्यहाँका जनताले उच्च मत दिएर विजयी गराएकाले केही हदसम्म उहाँको मतदातामाझ वर्चस्व सुरक्षित रहेको मानिए पनि अहिले रस्साकस्सी बढेको छ । पछिल्लो समय नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलको स्थानीयत्व र अपनत्वको भावनाले लामिछानेलाई सहज छैन । भरतपुर महानगरपालिका–११ बाहेकका अन्य क्षेत्रमा लामिछानेले थप कसरत गर्नुपर्ने देखिएको स्थानीय धर्म भुर्तेल बताउनुहुन्छ । उक्त क्षेत्रमा एक लाख ३२ हजार १५२ मतदाता रहेकामा २६ हजार मतदाता आफ्ना रहेको कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ दाबी गर्नुहुन्छ । त्यसमा रविबाट र अन्य दलबाट रुष्ट भएका मतदाताको अधिकांश मत खरेललाई आउने सम्भावना उहाँ व्यक्त गर्नुहुन्छ । 

मिहिनेत गर्दै प्रचण्ड 

माउ पार्टी विघटन गरेर नेपाली कम्युनिस्ट पार्टीको संयोजक बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्वबाट उम्मेदवारी दिनुभएको छ । बाहिरबाट सरसर्ती हेर्दा थोरै पहाडी मतदातामाझ उहाँको जित बलियो ठानिए देखिए तापनि आन्तरिक किचलोले उहाँको धेरै मत काटिने भएकाले जित्न धौ धौ पर्ने अनुमान स्थानीय गर्छन् । प्रचारका क्रममा उहाँ बाटैबाटो हिँडेको, भिरपहराका बस्ती र घर नपसेको भन्दै आलोचना भइरहेका छन् । नयाँ पार्टी र नयाँ उम्मेदवारको खासै प्रभाव नदेखिए पनि पुरानो दल र पहिलेका प्रतिस्पर्धी दलका उम्मेदवार दाहाललाई कसरी हराउन सकिन्छ भन्ने भित्री कसरतमा लागेका छन् । चितवनमा दुई पटक चुनाव जितेर प्रधानमन्त्रीसमेत बन्नुभएका दाहाललाई वाचा पूरा नगरेको आरोप मतदाताले लगाउने गरेका छन् ।

स्थानीय सुमन बुढा भन्नुहुन्छ, “अर्को दल नेपाली कांग्रेस र दाहालको अनुमानित मतबिच करिब दुई हजारको मात्र फरक हो, सबै पक्षले काट्दा कांग्रेस वा अर्को दलले जित्न बेर लगाउँदैनन् ।” नेपाली कांग्रेस पक्षधरले आफ्नो मत छ हजार रहेको र एमाले पक्षधरको चार हजार हाराहारी मत रहेको दाबी गरेको छ । रास्वपाले उम्मेदवार नै नउठाएको बेलासमेत ४७६ मत आएको उक्त स्थानमा यस पटक सबै दलबाट गरेर कम्तीमा पनि एक हजार पाँच सय मत उता जाने अनुमान गरिएको छ । नेकपाबाटै विद्रोह गरेर सशस्त्र द्वन्द्वका घाइते सन्दीप पुन पनि उम्मेदवार हुनुहुन्छ । उहाँले र विप्लव पक्षधरले पनि दाहालकै मत काट्ने भएकाले जितका लागि अप्ठेरो रहेको अनुमान बुढा गर्नुहुन्छ । करिब १७ हजार मत खस्ने अनुमानबिच थोरै मतान्तरको जितका लागि दाहाल दबाबमा हुनुहुन्छ । निर्वाचन आयोगका अनुसार त्यहाँ ३४ हजार मतदाता छन् । 

पुरातन सोचले दबाबमा

विचार र सिद्धान्तमा कहिल्यै अडिग रहन नसक्ने तर आधुनिकतालाई सधैँ बोझ ठान्ने पुरातन सोचका कारण दलका ठुला नेताले जनताको उच्च दबाब थेग्नु परेको टिप्पणी राजनीतिक विश्लेषक ईश्वरीप्रसाद खनाल गर्नुहुन्छ । त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र विभागका प्रमुखसमेत रहनुभएका खनालका अनुसार युवाले चाहेको प्रविधि र डिजिटल सुशासनलाई बेवास्ता गर्दाको परिणति अनुसार जनताको कसिकसाउ घेराबन्दीमा प्रमुख दलका ठुला नेता परेका हुन् ।

उहाँका अनुसार विश्व विकासको गति हेर्ने हो भने नेपालको शासनप्रणाली यतिखेर ६० प्रतिशत डिजिटल र ४० प्रतिशत सामान्य स्वरूपमा चल्नुपर्ने हो । त्यसो हुन्थ्यो भने भइरहेको भनिएको भ्रष्टाचार र कमिसनखोरी आधा बढी घट्थ्यो । भ्रष्टाचार हुने ठुलो रकम राज्यकोषमा सिधै जान्थ्यो । हातबाट चल्ने शासन छाड्न नखोज्नाले हरेक क्षेत्रमा त्यसको पीडा जनताले झेल्नु परेका कारण जेनजी आन्दोलन भएको ठम्याइ उहाँको छ । त्यसैले निर्वाचनमा नेतालाई जनताको कठघरामा उभ्याएको दाबी उहाँ गर्नुहुन्छ । 

अर्कातर्फ सैद्धान्तिक रूपमा राजनीतिक दल र दलका नेतृत्व कहिल्यै इमानदार रहन नसकेको खनालको तर्क छ । उहाँका अनुसार नेपाली कांग्रेसको प्रजातान्त्रिक विचारधारा होस् वा कम्युनिस्ट पार्टीको समाजवादी विचारधारा दुवै राजनीतिका लागि राम्रा विचारधारा हुन् तर दलका नेता आफ्नो विचारमा अडिग नरही घरी अर्को चुनाव चिह्नमा कार्यकर्तालाई बारम्बार भोट हाल्न लगाउने, आफैँ पनि कहिले कुन दल कहिले कुन दल फेरि फेरि मत माग्न जाने गरेकाले राजनीतिक सिद्धान्तको जग भत्कियो ।