• १४ फागुन २०८२, बिहिबार

हमलाबिच जेनेभामा वार्ता

blog

जेनेभा, फागुन १४ गते । रुसले युक्रेनमाथि नयाँ आक्रमणको लहर सुरु गरेकै दिन अमेरिका र युक्रेनबिच चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयास स्वरूप जेनेभामा नयाँ चरणको वार्ता सुरु हुने भएको छ । 

कूटनीतिक पहल अघि बढिरहे पनि युद्ध भूमिमा हिंसा नरोकिएको सन्दर्भमा यी बैठक हुँदै छन् । यस चरणको वार्तामा युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमरोभ र अमेरिकी पक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ तथा जारेड कुसनर सहभागी हुनु हुने छ । मार्चको सुरुमा रुससमेत सहभागी हुने पूर्ण त्रिपक्षीय बैठकको अपेक्षा गरिएको छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार क्रेमलिनका आर्थिक मामिला सम्बन्धी दूत किरिल दिमित्रीभ पनि अमेरिकी प्रतिनिधिसँग आर्थिक विषयमा छलफल गर्न जेनेभा पुग्ने तयारीमा रहनुभएको छ । यी प्रयास ट्रम्प प्रशासनको पहलमा अघि बढाइएको वार्ताको पछिल्लो चरण हुन्, जसले अहिलेसम्म दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्न ठोस उपलब्धि हाँसिल गर्न सकेको छैन । 

वासिङ्टनले सन् २०२२ मा सुरु भएको रुसको पूर्ण आक्रमणबाट जन्मिएको युद्ध अन्त्य गर्न निरन्तर दबाब दिँदै आएको छ । यस द्वन्द्वमा लाखौँ मानिसको ज्यान गएको छ भने विशेष गरी पूर्वी र दक्षिणी युक्रेनका भूभागमा व्यापक विनाश भएको छ । वार्ताको केही घण्टा अघि मात्रै रुसी सेनाले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण तीव्र बनाएको थियो । एएफपीका पत्रकारले मध्य किएभमा विस्फोटका आवाज सुनेका छन् । 

युक्रेनी वायु सेनाले राजधानीतर्फ तीव्र गतिमा वस्तु अघि बढिरहेको जनाएको थियो भने किएभको सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोका अनुसार रुसले ड्रोन र ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरी आक्रमण गरिरहेको बताउनुभयो । खार्किव, जापोरिझिया र ड्निप्रोपेट्रोभस्क क्षेत्रमा पनि आक्रमण भएको र खार्किवमा मात्र सात जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।

वार्ताको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गर्नु भएको थियो । करिब ३० मिनेटको उक्त संवादमा विटकफ र कुसनर पनि सहभागी हुनुहुन्थ्यो । जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जेनेभामा हुने द्विपक्षीय बैठकका एजेन्डा र मार्चमा हुने सम्भावित त्रिपक्षीय वार्ताको तयारीबारे छलफल भएको जानकारी दिनुभयो । 

उहाँले यी चरणहरूले अन्ततः नेताको स्तरमा प्रत्यक्ष वार्ताको मार्ग खोल्ने अपेक्षा व्यक्त गर्नुभयो । युक्रेनी पक्षले दीर्घकालीन सुरक्षा प्रत्याभूति बिना कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने अडान दोहोर्याएको छ । गत वर्ष सार्वजनिक गरिएको अमेरिकी योजना अनुसार वार्ताको मुख्य अवरोध पूर्वी युक्रेनको औद्योगिक क्षेत्र डोनबासको भविष्यबारे रहेको छ । 

रुसले डोनेट्स्क क्षेत्रमा पूर्ण नियन्त्रणको माग गर्दै आएको छ र वार्ताबाट सहमति ननिस्के बल प्रयोग गर्ने चेतावनी दिएको छ । किएभले भने उक्त माग अस्वीकार गर्दै रुसलाई पुनः आक्रमण गर्नबाट रोक्ने स्पष्ट सुरक्षा संयन्त्र अपरिहार्य रहेको बताएको छ । रासस/एएफपी