निशा राई
धरान, फागुन १२ गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो । सोमबार धरान उपमहानगरपालिकामा भएको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उहाँले झापाको कन्काई पुल लामो समयसम्म निर्माण हुन नसकेको तर भ्यू टावर छोटो अवधिमा निर्माण भएको उदाहरण दिँदै विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सुनसरी १ का उम्मेदवार डम्बर लावति(जेन्टल)लाई जिताउनु भनेको आफूलाई जिताउनु सरह हुने भएकाले अत्यधिक मत दिएर विजय गराउन आग्रह गर्नुभयो । उज्यालो नेपाल पार्टीलाई मतदान गर्नका लागि मुख्यतः तीन आधार रहेको बताउँदै विगतमा गरेका काम, नयाँ राजनीतिक विकल्पको आवश्यकता तथा देशको समृद्धिका लागि तयार पारिएको स्पष्ट योजनालाई प्रमुख आधारका रूपमा रहेको उहाँले प्रस्तुत गर्नुभयो ।
उहाँले देशको विकासका लागि आफूहरूले व्यवहारिक रूपमा काम गरेर देखाइसकेको दाबी गर्दै जेनजी आन्दोलनपछि बनेको नयाँ दलहरू मध्ये उज्यालो नेपाल पार्टी मात्र प्रभावकारी विकल्प भएको बताउनुभयो । देशलाई समृद्धि, विकास र आर्थिक रूपान्तरणतर्फ लैजान स्पष्ट रोडम्याप तयार गरि प्रतिबद्धता तयार पारिसकेको बताउनुभयो ।
विगतमा नेपालमा लोडसेडिङका कारण जनता अन्धकारमय जीवन बिताउन बाध्य भएको स्मरण गर्दै आफू नेतृत्वमा आएपछि छोटो समयमै लोडसेडिङ मुक्त देश र विद्युत नपुगेको गाउँघर सबैमा विद्युत पुराइ सिँचाइ, कलकारखाना सबैमा सहुलियत मुल्यमा विद्युत आपूर्ति व्यवस्थापन गर्न सफल भएको उहाँको भनाइ थियो । नेपाल विद्युत प्राधिकरण घाटामा रहेको अवस्थाबाट नाफामा पु¥याइ विदेश मुलुक भारत र बङ्गलादेशमा समेत विद्युत निर्यात गर्न सफल भएको उल्लेख गर्दै यसले आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो ।
उहाँले देशमा विद्युतको लोडसेडिङ मात्र होईन देश नै लोडसेडिङ र अध्यारो नै अध्याँरोमा रहेकोले त्यस अध्याँरोलाई उज्यालो पार्टीले मात्र हटाउन सक्ने बताउनुभयो । हाम्रो देशमा सबैभन्दा धेरै राजनीतिक क्षेत्रभित्रको विकृति हटाउन आवश्यक रहेकाले उज्यालो नेपाल पार्टी स्थापना गरिएको बताउँदै स्वास्थ्य, शिक्षा, सिँचाइ र उद्योग क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको धारणा राख्नुभयो । चिलिमे हाइड्रोपावरमार्फत स्थानीयलाई सेयर वितरण र रोजगारी प्रदान गरिएको उदाहरण प्रस्तुत गर्दै आर्थिक रूपान्तरणको आधार तयार भइसकेको उहाँले बताउनुभयो ।