• १२ फागुन २०८२, मङ्गलबार

बाँझो जग्गामा उखु खेती

blog

भाडाको जग्गामा उखु खेती गरेर वार्षिक पाँच लाख रुपियाँ आम्दानी गर्दै आएका युवा दीपक कार्की । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, फागुन १२ गते । अरूले बाँझो छाडेको जग्गा भाडामा लिएर स्थानीय जातको उखु खेती सुरु गर्दा यहाँ दीपक कार्कीले गुडबाट राम्रो आम्दानी गर्नुभएको छ । गाउँका करिब ७५ प्रतिशत मानिस बसाइँसराइ गरेपछि खाली रहेको बाँझो जग्गा उपयोग गर्दा नसोचेको सफलता हासिल भएको छ ।   

दशरथ चन्द नगरपलिका–४, बिनासौँगाउँका कार्कीले आफ्नै र गाउँलेले छाडेको बाँझो जग्गा भाडामा लिएर ४० रोपनी क्षेत्रफलमा उखु खेती विस्तार गर्नुभएको छ । दशरथ चन्द नगरपालिकाको कृषि शाखा प्रमुखसमेत रहेका कार्की नोकरीसँगै व्यावसायिक गुड उत्पादनमा लाग्नुभएको हो । 

जिल्ला सदरमुकामनजिकै नगरपालिकाको बिनासौँगाउँ जङ्गली जनावर बाँदर, बँदेल र दुम्सीका कारण रित्तिएको छ । जङ्गली जनावरले खेतीपाती नाश गर्न थालेपछि यहाँका ७५ प्रतिशत मानिस अन्यत्रै बसाइँ सरेर गएका छन् । यही गाउँका युवा कार्कीले भने खाली जग्गा भाडामा लिएर उखु खेतीबाट एक मेट्रिक टन गुड उत्पादन गर्दै आउनुभएको छ । 

माघदेखि चैतसम्म उखु पेलेर एक मेट्रिक टन गुड उत्पादन हुने गरेको उहाँले बताउनुभयो । स्थानीय गुडको बजार मूल्य प्रतिकिलो ३५० रुपियाँ छ । एक मेट्रिक टन गुड उत्पादन गरेर पनि माग पूर्ति गर्न नसकेको उहाँले बाउनुभयो । उहाँले यस पटक पाँच लाख रुपियाँ आम्दानी गरेको सुनाउनुभयो । 

उहाँले भन्नुभयो, “कार्यालय समयपछि साँझबिहान र बिदाको दिन उखुबारीमै बित्छ । म नभएका बेला बुवाआमा र श्रीमतीले हेर्नुहुन्छ । उखुसँगै व्यावसायिक तरकारी खेतीसमेत गर्दै आएका छौँ ।” परम्परागत रूपमा गरिँदै आएको उखु खेतीलाई व्यावसायिक ढङ्गले अघि बढाउँदा जग्गा आवश्यकता भयो । 

गाउँलेले बाँझो छाडेको जग्गा भाडामा लिएर गएको पाँच वर्षदेखि उखु खेती सुरु गरेको उहाँले बताउनुभयो । उखु पेल्न परम्परागत कोलभन्दा उखुको जुस निकाल्ने विद्युतीय मेसिन जडान गर्दा सजिलो भएको छ । गुड पकाउन भने ५० लिटर क्षमताको तौला (तामाको भाँडा) राखिएका छन् । तामाको भाँडामा उखुको रसलाई चार घण्टा पकाएपछि गुड तयार हुन्छ । 

यसरी तामाको भाँडामा पकाएको गुड आयुर्वेदिक औषधीमा समेत प्रयोग हुने गरेको छ । स्थानीय गुडबाट ‘आशिव आरिष्ट’ जस्ता आयुर्वेदिक झोल औषधी बन्ने गरेको स्थानीय वैद्य भोजराज भट्टले बताउनुभयो । 

बैतडीको स्थानीय जातको उखुको गुडमा क्याल्सियम, आइरन, पोटासियम, सोडियम, फस्फोरस र प्रोटिन जस्ता प्राकृति गुणकारी तìव पाइने भएकाले गुड शक्तिवर्धक, रक्त शुद्धता, बाथरोग, दमरोग, अपच र महिनावारी अनियमिततामा लाभकारी हुने उहाँले बताउनुभयो । 

पहाडी बस्ती रित्तिएका बेला उखु खेती सुरु गर्दा चुनौती पनि थपिएको दीपकका पिता वीरसिंह कार्कीले बताउनुभयो । उखुबारीमा जङ्गली जनावर बँदेलले क्षति गर्दा यस वर्ष करिब डेढ लाख रुपियाँ बराबरको नोक्सान भएको उहाँले बताउनुभयो । 

उखुबारीमा हरियो रङ्गको जालीले घेरबार गर्न यस वर्ष बैङ्कबाट ऋण लिएको उहाँले भन्नुभयो, “पहाडमा केही  हुँदैन भनेर गाउँ छाडेर जानेलाई सन्देश दिन विकल्पमा उखु खुती सुरु गरेका हौँ । अन्य बालीभन्दा उखुमा बाँदर र दुम्सीले कम क्षति गर्छन् ।”