• १२ फागुन २०८२, मङ्गलबार

चार लाख बहत्तर हजारले लिए श्रम स्वीकृति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १२ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा चार लाख ७२ हजार ५७७ जनाले श्रम स्वीकृति लिएका छन् । यीमध्ये नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) मा मात्रै एक लाख छ हजार ६८७ जना रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभाग निर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार दुई वर्षदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य मुलुक बन्दै आएको छ । यसअघि मलेसिया पहिलो गन्तव्य बन्दै आएको थियो । 

यस अवधिमा दोस्रो कतार र तेस्रो साउदी अरब श्रम गन्तव्य देश बनेका छन । समीक्षा अवधिमा कतारमा ७९ हजार ५७१ र साउदी अरबका लागि ७८ हजार ३९७ जनाले श्रम स्वीकृति लिएर गइसकेका छन् । चौथो श्रम गन्तव्य देश मलेसियाका लागि ५१ हजार ६२९ जनाले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगारविज्ञ रामेश्वर नेपालले युएईले कोभिडपछाडि सेवा क्षेत्रसहित निर्माणका ठुला परियोजनामा लगानी गरिरहेकाले त्यहाँ आप्रवासी श्रमिकको माग बढेसँगै नेपालबाट जानेको पनि सङ्ख्या बढेको बताउनुभयो ।