• १२ फागुन २०८२, मङ्गलबार

पाँच वर्षमा चौध हजार ज्यान गयो

blog

  • पछिल्लो पाँच वर्षमा १४ हजार २१४ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको छ । 
  • सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश २५ वर्षमाथि उमेर समूहका पुरुषको सङ्ख्या ८० प्रतिशतको हाराहारीमा छ । 
  • सडक दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा दैनिक ८० वटा दुर्घटनामा औसत आठ जनाको मृत्यु हुने गरेको छ । 
  • सडक दुर्घटनाबाट श्रीमान्, श्रीमती तथा अभिभावक गुमाउने परिवारको सम्भावित एकल अवस्था भयावह छ ।

मित्र भण्डारी (काठमाडौँ)/अस्मिता पोखरेल (धादिङ) 

काठमाडौँ, फागुन १२ गते । नेपालमा विगत पाँच वर्षमा सडक दुर्घटनाका कारण १४ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा १४ हजार २१४ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको हो । एक लाख ७१ हजार ९५२ जना घाइते भएका छन् । दुर्घटनाबाट हुने भौतिक क्षतिको कुनै लेखाजोखा छैन ।

आर्थिक वर्ष २०७६/७७ मा २५ हजार ७८८ वटा सडक दुर्घटनामा दुई हजार २९१ जनाको ज्यान गएको थियो । जसमध्ये एक हजार ८२३ जना पुरुष र ४६८ जना महिला छन् । दुर्घटना हुनेमा सार्वजनिक र भाडाका सवारीको सङ्ख्या १३ हजार ५८२ छन् ।

त्यस्तै आव २०७७/७८ मा २४ हजार ५३९ सवारी दुर्घटनामा दुई हजार ८८३ जनाको मृत्यु भयो । यसमध्ये दुई हजार ३६३ जना पुरुष र ५२० जना महिला थिए । दुर्घटना हुने सार्वजनिक तथा भाडाका सवारीको सङ्ख्या १३ हजार ४९५ थियो । त्यसै गरी आव २०८१/८२ को नौ महिनामा २२ हजार ८६० वटा सवारी दुर्घटनामा दुई हजार ७९ जनाको ज्यान गएको छ । जसमध्ये एक हजार ६२६ जना पुरुष र ४४३ जना महिला रहेका छन् । दुर्घटनामा परी ३५ हजार ७७८ जना घाइते भएका छन् । 

सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश २५ वर्षमाथि उमेर समूहका पुरुषको सङ्ख्या ८० प्रतिशतको हाराहारीमा रहेको पाइएको छ । सडक दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा दैनिक ८० वटा दुर्घटनामा औसत आठ जनाको मृत्यु हुने गरेको छ भने ७० जना घाइते हुने गरेका छन् । यो तथ्याङ्कले सडक दुर्घटनाबाट श्रीमान्, श्रीमती तथा अभिभावक गुमाउने परिवारको सम्भावित एकल अवस्था भयावह देखाएको छ ।

सडक सुरक्षामा पुगेन ध्यान 

सवारी तथा यातायात व्यवस्था ऐन, २०५४ मा सार्वजनिक यातायातलाई लामो, छोटो र मध्यम गरी तीन भागमा वर्गीकरण गरी २५० किलोमिटरभन्दा लामो दुरीमा दुई जना चालक राख्ने, गति सीमित तोकी टाइमकार्ड लागु गर्ने, सिट क्षमतामा मात्र यात्रु बोक्ने र नियमित प्राविधिक परीक्षण गरेको हुनुपर्ने जस्ता नियम तोकिएको छ । साथै सार्वजनिक यातायात इजाजत, अनुगमनमा सङ्घ, प्रदेश र स्थानीयबिचको तेहरोपनका कारण समन्वयको अभाव देखिएको छ । 

यातायात व्यवस्था विभागका निर्देशक गणेशमानसिंह राईले अन्तरप्रदेश रुट निर्धारण, राष्ट्रिय राजमार्ग तथा लोकमार्गको अनुगमनबारे अन्योल रहेको बताउनुहुन्छ । रार्ई भन्नुहुन्छ, “सवारीचालक अनुमतिपत्र, सार्वजनिक यातायातको रुट निर्धारण सङ्घबाट प्रदेश र स्थानीय तहमा पुगेको छ । आवश्यक प्रविधि र जनशक्ति अभावले प्रभावकारी अनुगमन हुन सकेको छैन ।” उहाँले जेनजी आन्दोलनमा विभागमा भएको आगजनी तोडफोडबाट पुगेको क्षतिबाट स्रोतसाधनको अभाव रहेको बताउनुभयो ।

विभागले सार्वजनिक तथा ढुवानीका यातायातको नियमित यान्त्रिक चेकजाँचका लागि गण्डकी र मधेश प्रदेशमा चेकजाँच केन्द्र स्थापना गरे पनि आवश्यक मात्रमा प्राविधि र दक्ष जनशक्ति उपलब्ध गराउन नसकेका कारण अनुगमन प्रभावकारी हुन सकेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार सार्वजनिक यातायात राज्यको उपेक्षामा परेका कारण अस्वस्थ प्रतिस्पर्धा, दक्ष चालकको पलायन, प्रभावकारी अनुगमन नहुँदा सडक दुर्घटना बढेको बताउनुहुन्छ । 

कार्यान्वयन भएन सुझाव 

वि.सं. २०८१ असार २८ गते काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको ०३–००१ ख २४९५ नम्बर गणपति डिलक्स र ३८ यात्रुसहित पर्साको वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स पहिरोसँगै त्रिशूलीमा खसेर दुर्घटना हुँदा २४ जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएका थिए ।

सो घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव छविलाल रिजालको संयोजकत्वमा छानबिन समित गठन गरेको थियो । उक्त समितिले दुर्घटना न्यूनीकरणका लागि सरकारलाई दिएको सुझाव अझै कार्यान्वयन हुन सकेको छैन । समितिको प्रतिवेदनमा सडक सुरक्षा प्रवर्धन गर्नका निमित्त नेतृत्वदायी संस्थाका रूपमा सडक सुरक्षा परिषद्को स्थापना गर्नुपर्ने, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग र नेपाल प्रहरीको एकीकृत आपत्कालीन पूर्वसूचना प्रणालीको विकास गर्नुपर्ने, सुरुङमार्गलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न सुझाव दिइएको थियो । 

त्यसै गरी प्रतिवेदनमा दुर्घटना राहत कोष स्थापना गर्ने, रुट इजाजत जारी गर्नेसम्बन्धी स्पष्ट मापदण्ड तयार गर्ने, राजमार्गको डिजाइन, निर्माण तथा सञ्चालनको विभिन्न चरणमा मूल्याङ्कन गर्नुपर्ने, सडकमा रहेका पुलपुलेसामा थुप्रिएको लेदो, माटो, तथा डेब्रिज नियमित रूपमा सफा गर्ने व्यवस्था मिलाउने, राजमार्गका निश्चित दूरीमा ‘रिफ्रेसमेन्ट’ केन्द्र स्थापना गर्नुपर्ने सुझाव अझै कार्यान्वयन हुन सकेका छैनन् ।  


बस दुर्घटनामा उन्नाइस जनाको मृत्यु 

आइतबार राति यात्रुवाहक बस त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । २५ जना गम्भीर घाइते भएका छन् । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ–५, भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट दुर्घटना भई त्रिशूली नदीमा खसेको हो । दुर्घटनाग्रस्त बसमा सवार अन्य २५ जना घाइतेको नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पु¥याइएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार घाइतेमध्ये १४ जनाको काठमाडौँस्थित ट्रमा सेन्टर, १० जनाको नेसनल अस्पताल कलङ्की र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनको कारण खुल्न बाँकी छ । घटनाको खबरसँगै गृहमन्त्री ओमप्रकाश अर्यालयको अध्यक्षतामा बसेको आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । 

दुर्घटनालगत्तै उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयका अनुसार राति १:१० बजे आसपासमा ठुलो आवाजसहित बस दुर्घटना भएको थियो । त्यसलगत्तै स्थानीयवासी घरेलु सामग्री लिएर उद्धारमा खटिएका थिए । घटनास्थलको अवस्था भयावह, कोलाहलपूर्ण अवस्थामा घाइते छटपटाइरहेको दृश्य हृदयविदारक थियो । दुर्घटनाग्रस्त बस त्रिशूली नदीको किनारमा क्षतविक्षत अवस्थामा रहेको र बसमा च्यापिएका मृतक तथा घाइतको उद्धार निकै जटिल बनेको थियो । कतिपय भिरमा अड्किएका घाइतेको तत्कालै उद्धार भए पनि गम्भीर घाइतेको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् । दुर्घटनामा मृत्यु भएका १९ जनाकै सनाखत भएको छ । धादिङ प्रहरीका अनुसार बेलायतका २४ वर्षीय स्टेवार्ट डोमेनिक इथन, पोखरा महानगरपालिका–३० का ४० वर्षीय विवेक बाँस्तोला र काठमाडौँको नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवरको सनाखत भएको छ । 

त्यस्तै तनहुँको व्यास गाउँपालिकाका ४० वर्षीय ओमकुमार मल्ल, धादिङको त्रिपुरासुन्दरी बस्ने ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँ शुक्ला गण्डकीकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौँका बौद्धमा बस्ने ४२ वर्षीय लोप्साङ गोले, तनहुँको भिमानका हरिप्रसाद सिग्देल र पाल्पाको तानसेनका ५५ वर्षीय नवीन्द्र श्रेष्ठको सनाखत भएको छ । तनहुँ, शुक्लागण्डकी गाउँपालिका–७ बस्ने वर्ष ६३ का रुद्रप्रसाद ढकाल, शुक्लागण्डकी गाउँपालिका–२ बस्ने वर्ष २० की अर्चना पौडेल, पोखरा महानगरपालिका–१४, चाउथे बस्ने वर्ष २१ की अञ्जली क्षेत्री, माछापुच्छ«े गाउँपालिका–३ बस्ने वर्ष २१ का रोहित नेपाली, स्याङजा, पुतलीबजार नगरपालिका–६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी, काठमाडौँ महानगरपालिका–३२, बुद्धनगर बस्ने वर्ष ३३ की अनिशा महर्जन, मोरङ, उर्लाबारी–१ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी, कास्की, पोखरा–१९ बस्ने वर्ष २६ का सुजित नेपाली, भारतको उत्तर प्रदेश प्रान्त, बसहरी बहराइच घरभएका वर्ष ३२ का मनिष सुक्ला र चिनियाँ नागरिक झाङ चुनचुन रहेकी छिन् । मृतकको शव धादिङ अस्पताल र गजु्री स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको छ ।

न्युजिल्यान्डका ‘मारी’ नाम गरेका एक विदेशी नागरिक सामान्य उपचारपछि मलेखुबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

लगातार तीन ठुला दुर्घटना, ५० जनाको गयो ज्यान 

पछिल्लो दुई सातामा मात्र भएका तीन ठुला सडक दुर्घटनामा ५० जनाको ज्यान गएको छ भने ७० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् । गत माघ २७ गते रामेछाप सदरमुकाम–६, मसानटारमा अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख. ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खस्दा चालकसहित आठ जना गम्भीर घाइते भए ।

त्यसअघि माघ २३ गते बैतडीको पुर्चौडी–७, भौनीबाट जन्ती बोकेको बस दुर्घटना हुँदा एकै परिवारका तीन जनासहित १३ जनाको मृत्यु र ३४ जना घाइते भएका थिए । लगातारका यी ठूला दुर्घटनाबाट भएको ठुलो मानवीय क्षतिले मुलु्क नै शोकमग्न बनेको छ । साँगुरा तथा जीर्ण सडक, नियमित सवारी जाँच नहुनु र सम्बद्ध निकायका तर्फबाट भइरहेको फितलो अनुगमन तथा यातायात व्यवसायीको अनुदार स्वनियम र अस्वस्थ्य प्रतिस्पर्धाका कारण बढ्दो सवारी दुर्घटनाबाट बर्सेनि हजारौँ नागरिकले अकालमा ज्यान गुमाइरहेका छन् ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक पोषराज पोखरेल सडक दुर्घटनाको मुख्य कारण सवारी नियमको उलङ्घन, चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन तथा सवारीसाधनको नियमित यान्त्रिक जाँच नहुनु रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सार्वजनिक तथा भाडाका सवारीको चाप बढ्दो छ, अनुगमन गर्ने जनशक्ति अत्यन्तै कम रहेकाले नमुना जाँचमै सीमित रहनुपर्ने बाध्यताले प्रभावकारी अनुगमन नै भइरहेको छैन ।” उहाँले चालकको लापरबाही यात्रुले पहिले थाहा पाउने भएकाले सजग गराउने र नजिकै प्रहरीलाई खबर गर्न सके दुर्घटना कम हुन सक्ने बताउनुभयो । कमजोर तथा साँगुरा सडक र यातायात व्यवसायीबिचको अस्वस्थ प्रतिस्पर्धा र क्षमताभन्दा बढी सवारी बोक्ने प्रवृत्तिले एकपछि अर्को गरी दुर्घटना दोहोरिँदै गइरहेका छन् ।