गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १२ गते । विभिन्न माग राख्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका आवासीय (रेजिडेन्ट) चिकित्सक आन्दोलित भएका छन् । एक घण्टा धर्ना दिएर उनीहरूले आन्दोलन सुरु गरेका हुन् । न्याम्स र रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (¥यान) बिच पाँच महिनाअघि भएको सहमति कार्यान्वयन नभएपछि चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश खरेलले माग पूरा नभए आकस्मिक र अन्तरङ्गबाहेकका सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रने जानकारी दिनुभयो । उहाँले गत असोजमा रेजिडेन्ट चिकित्सकले गरेको आन्दोलनका क्रममा न्याम्ससँग निर्वाह भत्ता र नाइट ड्युटी भत्ता समयमै उपलब्ध गराउने, ओपिडी समयले रेजिडेन्ट डाक्टरको कक्षा तालिका र खाजा समय असर नपर्ने गरी मिलाउने, रेजिडेन्टको हेल्थ इन्स्योरेन्स गर्ने, लाइब्रेरी समय अनुकूल आधुनिकीकरण र व्यवस्थित गराउनेलगायतका सहमति भएको जानकारी दिनुभयो । उहाँले लामो समय बितिसक्दा पनि न्याम्सका पदाधिकारीले सहमति कार्यान्वयन नगरेपछि रेजिडेन्ट आन्दोलनमा उत्रिनु परेको जानकारी गराउनुभयो ।
२६ माघमा डिन अफिसमा बैठक गर्न निवेदन दिए पनि कारबाही नभएपछि रेजिडेन्ट चिकित्सक स्वतःस्फूर्त आन्दोलनमा उत्रिनु परेको उहाँको भनाइ छ । यस विषयमा न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले रेजिडेन्ट चिकित्सकका मागमा आफू गम्भीर रहेको जानकारी दिनुभयो ।