गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १२ गते । काठमाडौँ महानगरपालिकाले महानगरका १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम सुनिश्चित गरेको छ । त्यसै गरी महानगरका आठ वटा वडाभित्रका स्थानको प्राचीन र मौलिक नाम सुनिश्चित गर्न अध्ययन भइरहेको महानगरले जनाएको छ ।
महानगरको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा गरेको दुई चरणको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन गरेको पर्यटन विभाग प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा महानगरको वडा नं. ५, ६, ७, १८ र २४ र दोस्रो चरणमा वडा नं. ८, १७, १९, २० र २५ को अध्ययन गरी स्थानको प्राचीन र मौलिक नाम सुनिश्चित गरिएको हो । अध्ययनका क्रममा वडाभित्र भएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वमा आधारित स्थान तथा बस्तीको मौलिक एवं प्राचीन नामकरणसम्बन्धी अध्ययन तथा अभिलेखीकरणसमेत गरिएको छ ।
उहाँले भन्नुभयो, “अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीको अध्ययनबाट प्राचीन नाम पता लगाइन्छ । यसरी पाइएका नामलाई स्थानीयवासी, समुदाय, संस्कृतिविद्, पुरातत्वविद, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गराइन्छ ।”
त्यसै गरी महानगरको थप आठ वटा वडाको मौलिक र प्राचीन नाम यकिनका लागि तेस्रो चरणको अध्ययन गर्न महानगरको सम्बद्ध विभागबिच सोमबार सम्झौता भएको सम्पदा तथा पर्यटन विभाग प्रमुख राईले जानकारी दिनुभयो । उहाँका अनुसार तेस्रो चरणको अध्ययनका क्रममा महानगरको वडा नं. १२, १३, १५, २१, २२, २३, २७ र २८ का स्थानको प्राचीन र मौलिक नामको अध्ययन गरिने छ । तेस्रो चरणको अध्ययनका लागि महानगरको कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहवरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशन रिजा जोशीले हस्ताक्षर गर्नुभयो ।
नाम सम्बोधन गर्ने शब्द मात्र होइन
सो अवसरमा महानगरको कार्यवाहक प्रमुख डङ्गोलले नाम केवल बोलाउनका लागि प्रयोग गरिने शब्द मात्र नभएको उल्लेख गर्दै भन्नुभयो, “हरेक नामको पछाडि केही न केही तथ्य हुन्छ । इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा हुन्छ । यस कारण नाम राख्ने र प्रचलनमा ल्याउने कामलाई हलुका रूपमा लिन हुँदैन ।” उहाँले नयाँ नाम सुनिश्चित भएका स्थानको परिचय पाटी दृश्य प्रदूषण नहुने गरी राख्न सम्बद्ध विभागलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म पहिलेकै ठाउँमा राख्नुहोला । नत्र भए हेर्दा आँखा नबिझाउने र अरूलाई असर नपार्ने ठाउँमा राख्नुहोला ।”