सुधा देव
भारदह(सप्तरी), फागुन ११ गते । निर्वाचन र आम सञ्चार विषय एक दिवसीय अन्तरक्रिया कार्यक्रम राजविराजमा सोमबार सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले सप्तरीमा मतदाता शिक्षा प्रभावकारी नभएको बताउनुभएको छ ।
उहाँहरूले निर्वाचनको मेरूदण्ड मतदाता शिक्षा भए पनि मतदाता शिक्षाको अभावमा मतपत्र बदर हुनुभन्दा दुःख केही नहुने भएकोले मतदाताको अज्ञानताको कारण मतपत्र बदर हुन नदिन सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सप्तरी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सप्तरीमा मतदाता शिक्षा कमजोर रहेको बताउनुभयो । मतदाता शिक्षा स्वयंसेवकले मतदातालाई मतदाता शिक्षाको विषयमा सुचित गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, झमतदाता शिक्षाको अभावमा कसरी मतपत्रमा छाप लगाउने,पट्याएर मतपेटिकामा खसाउने विषयमा मतदाता अझै अनभिज्ञ रहेको गुनासो आइरहेको छ । मतदाता शिक्षा थप प्रभावकारी र उपलब्धिमूलक बनाउन पालिका र वडाले विशेष निगरानी गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देवले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा स्वमसेवकले मतदाताले नबुझेसम्म सिकाएर गत निर्वाचनहरू भन्दा मतपत्र बदरको सङ्ख्या घटाउन आवश्यक भएको बताउनुभयो । अहिलेको समयमा निर्वाचन स्वच्छ, निष्पक्ष,भयरहित वातावरणमा कसरी सम्पन्न हुन्छ ? त्यतातिर सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्न आवश्यक रहेको बताउनुभयो ।
निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । निर्वाचनमा मतदान केन्द्रमा लगिने सामाग्रीको पोको पार्ने काम भइरहेको र अहिलेसम्म जिल्लामा मतपत्र नआइसकेकोले चाँडै आउने उहाँले बताउनुभयो ।
जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमा कुल ५ सय ६२ मतदान केन्द्र र २ सय ९६ मतदान स्थल तोकिएकोमा २ वटा थप अस्थायी मतदान स्थल गरी २ सय ९८ मतदान स्थल रहने छ ।दुई वटा अस्थायी मतदान स्थल जिल्लाको राजविराज कारागार र जिल्ला समन्वय समितिमा रहने छ । कारागारको मतदान स्थलबाट ६९ जना कैदीबन्दीले मतदान गर्ने छ भने जिल्ला समन्वय समितिमा रहेको मतदान स्थलबाट कर्मचारी तथा सुरक्षाकर्मी गरी लगभग करिब ३ हजार ८ सय जनाले मतदान गर्ने उहाँले जानकारी दिनुभयो ।
निर्वाचनमा जिल्लामा कुल तीन हजार ३ सय ७२ जना कर्मचारी खटिने भएको छ । जिल्लामा कुल ४ लाख ४६ हजार ४ सय २ जना मतदाता रहेका छन्। कार्यक्रममा जिल्लाका करिब दुई दर्जन सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।