• ११ फागुन २०८२, सोमबार

एन्फा राष्ट्रिय लिग : पुलिसमाथि जावलाखेलको सहज जित

blog

बल खोस्ने प्रयास गर्दै जावलाखेल र पुलिसका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन ११ गते । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिगमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । 

सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा जावलाखेलले पुलिसलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा जावलाखेललाई जिताउन निकोलस ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले गोल गर्नुभयो । 

जितसँगै ६ खेलबाट नौ अङ्क बनाएको जावलाखेल नवौँ स्थानमा छ । समान खेलमा चार अङ्क बनाएको पुलिस १४औँ स्थानमा छ । 

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेविहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।