• ११ फागुन २०८२, सोमबार

संघर्ष र साहसको प्रतीक डाँगी

blog

शिक्षक धनेश्वर डाँगी कक्षा कोठामा ।

ज्ञानु पंगेनी

मध्यविन्दु, फागुन ११ गते । शारीरिक रूपमा अपाङ्गता भएर पनि संघर्ष, साहस र असम्भवलाई सम्भव बनाउँदै प्रेरणाको स्रोत बन्नुभएको छ, शिक्षक धनेश्वर डाँगी ।

घोराही उपमहानगरपालिका –१७ मा जन्मिनुभएका डाँगी अहिले हुप्सेकोट गाउँपालिका –५ धौवादी, रुद्रपुरस्थित शिक्षा बोधनी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आउनुभएको छ । जन्मजात शारीरिक अपाङ्गता (हातमा समस्या) हुँदाहुँदै पनि उहाँले आत्मसंघर्षलाई आत्मबलमा रूपान्तरण गर्दै समाजको लागि जीवित प्रेरणाको प्रतिमूर्ति बन्न सफल हुनुभएको छ ।

११ वर्ष अस्थायी रूपमा अध्यापन गराउनुभएका डाँगी विगत एक वर्षदेखि भने प्राथमिक तहका स्थायी शिक्षक भई शिक्षा बोधनी माविमा कार्यरत रहनुभएको छ । कक्षा १२ सम्म अध्ययन गर्नुभएका उहाँले व्यक्तिगत तथा पारिवारिक परिस्थितिका कारण उच्च शिक्षालाई निरन्तरता दिन नसके पनि सिकाइ र सिकाउने यात्रालाई कहिल्यै अवरुद्ध हुन दिनुभएन ।

अपरिचित जोकोहीले पनि डाँगीको शारीरिक अवस्था देखेपछि उहाँ काम गर्न सक्नुहुन्छ होला भन्ने सहजै सोच्दैनन्, किनकि उहाँका हात शरीरका अन्य भागभन्दा साना छन् र हातका औँला पनि पूरा छैनन् । तर उहाँले घर र आफ्नो पेशा दुवै क्षेत्रमा सक्षम व्यक्तिसरह सबै काम गर्दै आउनुभएको छ ।

उहाँ कार्यरत क्षेत्र जिल्लाकै विकट पहाडी क्षेत्रमा पर्दछ । घरपायक नहुँदा परिवार साथमा छैनन् । कतिपय काम गर्न उहाँलाई अरूको सहारा चाहिन्छ, तर परिस्थितिले उहाँलाई धेरैजसो काम आफैं गर्न बाध्य बनाएको छ । 

‘कतिपय काम गर्न असहज र अप्ठेरो त हुन्छ नै, तर मैले व्यवस्थापन गरेको छु । जीवनमा हार मानेर हुँदैन, हिम्मत गरेपछि सकिने रहेछ’ डाँगीले भन्नुभयो, ‘खाना पकाउने, भाँडा माझ्ने, कपडा धुनेजस्ता काम गर्न गाह्रो हुन्छ । नुहाउने र कपडा धुने काम झनै कठिन छ, तर मैले सबै कामलाई सहज रूपमा लिएर जसोतसो गर्दै आएको छु । हार मानेको छैन ।’

विद्यार्थीका लागि जुनसुकै शिक्षक प्रेरणाको स्रोत हुन्छन् । तर डाँगीले कक्षाकोठामा पढाउँदा विद्यार्थीमा थप ऊर्जा र हौसला मिल्ने गरेको छ । उहाँको हिम्मत र आत्मविश्वास देखेर विद्यार्थीमा पनि आत्मबल बढ्ने गरेको छ । विद्यार्थीका लागि उहाँ पाठ्यपुस्तकभन्दा गहिरो पाठ बन्नुभएको अन्य शिक्षकको बुझाइ छ ।