बोमलाल गिरी
नवलपुर, फागुन ११ गते । मोफसलकै चर्चित जीएम कप भलिबल प्रतियोगिता आगामी फागुन २८ गतेदेखि सञ्चालन हुने भएको छ ।
प्रतियोगिता फागुन २८ देखि चैत ३ गतेसम्म कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको प्राङगढमा हुने आयोजक जिएम समाजले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगितामा सबै प्रदेशका सात र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने जिएम समाजका महासचिव धिरेन्द्र प्रताप गाहा मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, द्धितीय हुनेले एक लाख पचास हजार र तृतिय हुनेले एक लाख तथा सान्त्वना पुरस्कार ५० हजार रुपियाँ, पदक र प्रमाण पत्र रहेको मगरले जानकारी दिनुभयो ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद १० हजार, पदक र प्रमाण पत्र पाउनेछ । खेल सञ्चालन गर्नका लागि ३० लाख रपियाँ खर्च हुने अनुमान गरिएको समाजका कार्यवाहक अध्यक्ष धन बहादुर रानाले जानकारी दिनुभयो ।
संस्थाका सदस्य, विदेशमा रहेका शुभेच्छुकबाट चन्दा तथा गण्डकी प्रदेश खेलकुद परिषद्, नवलपुर खेलकुद विकास समिति लगायतबाट पाएको सहयोगले खर्च व्यवस्थापन गरिने उहाँको भनाइ छ ।
नवलपुर खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले विगतमा गरिएको कार्यक्रमका गल्तीहरु सच्चाउँदै यो पटकको प्रतियोगिता सफल ढंगले सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जिएम समाजसँग सहकार्य गरी प्रतियोगिता गर्न पाउनु खुशीको विषय भएको बताउनुभयो ।