निकै पर, दक्षिण–उत्तरी दिशामा सघन हरियाली वृक्षादिले भरिपूर्ण सोतो परेको एउटा डाँडा उभिएको छ । त्यो नागार्जुनको डाँडा हो । भारतीय कवि नवारुण भट्टाचार्यको चर्चित कविता ‘मृत्यु उपत्यका होइन, मेरो देश’ जस्तै करिब करिब मृत्यु उपत्यका जस्तै आभास हुने यो अस्पतालबाट हेरिरहेछु म त्यो डाँडालाई । एकोहोरो÷निर्निमेष । त्यो डाँडातिर आफ्ना धूमिल नजर बिछ्याउँदा मनभित्रका अनेक उद्वेग तछाँडमछाड गर्दै सतहमा तैरिइरहेका छन् । मभित्र उद्वेलित भावहरूले साक्षीपत्रमा हस्ताक्षर गरिरहेका छन्, ‘त्यो नागार्जुनको डाँडापर्तिर मेरो घर छ । म आफ्नो घरमा सकुशल फर्किन सकुँला वा नसकुँला... !’
म यिनै नूतन तर अनुत्तरित प्रश्नहरूबिच बन्दी छु । म ‘१२ नम्बर’ बेडमा पल्टिरहेको छु । जीवन–मृत्युको सँघारमा उभिँदै । यो बेडको झ्यालबाट प्रस्टै देखिन्छ, पश्चिमतिर एक्लै उभिइरहेको नागार्जुन डाँडा । म पनि त्यही डाँडा जस्तै एक्लो छु । पुग्छ आँखा त्यतैतिर । घरिघरि । नदौडाउँ भन्छु, पुगिहाल्छ निमेषभरमै । त्यो डाँडालाई आँखाको परिसरमा भिœयाउनासाथ अनेक तर्कनाका सुनामीले लपेट्न थाल्छन् ।
२०७८ वैशाख २७ । काठमाडौँ खुलेको छ आज । हिजो साँझदेखि म त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका चिकित्सक र नर्सहरूबीच शरणार्थी हुन पुगेको छु । गणेशमान सिंह मेमोरियल भवनलाई ‘कोरोना अस्पताल’ मा रूपान्तरण गरिएको छ । हो, त्यही भवनको एउटा बेडमा म पल्टिरहेको छु । कोभिड–१९ को शक्तिशाली लपेटोले छाडेन मलाई पनि । विश्वव्यापी रूपमा चम्किरहेको यो व्याधिले धेरैको जीवन समाप्त पारिसकेको छ । अझै कतिलाई यो अजिङ्गररूपी मुखले आफूतिर तान्ने हो ! कुनै पूर्वानुमान गर्न सकिँदैन ।
“तपाईंलाई झन् झन् गाह्रो हुँदै गएको छ । आज हस्पिटल जाउँ,” २०७८ वैशाख २६ गते बिहान अरुचिपूर्वक केही गाँस खाना खाएपछि दीपाले भनिन् । “ठीक हुन्छ होला । केही दिन हेर्ने पो हो कि !” मैले आफूभित्र आत्मविश्वासरूपी कलिला टुसाहरूलाई हुर्काउँदै भनेँ ।
“हैन, म आशिष ज्वाइँलाई फोन गर्छु । आजै टिचिङ जाऊँ,” उनको आग्रह रह्यो ।
हिमाली चट्टानहरू झैँ दह्रो लागिरहेको थियो, आत्मबल । शरीर शिथिल हुँदै गए पनि । होइन, भ्रम रहेछ त्यो त । कोेरोना र खग्रास सूर्य–चन्द्रग्रहण एउटै प्रकृतिका हुँदा रहेछन् जस्तो लाग्यो । बिस्तारै बिस्तारै ढाक्दै जाने । मन्द गतिले । अन्ततः पूरै अँध्यारो तुल्याउँदा रहेछन्,
जीवनजगत्लाई ।
बिहानको ११ बज्दै थियो । घाम आफ्नै लय समातेर झुमिरहेथ्यो, माथि आकाश वृत्तमा । अस्पतालको परिसर टेक्दा कोरोनाको रौद्र, अकल्पनीय र पीडक प्रवृत्तिरूपी रूपप्रति साक्षात्कार हुन करै लाग्यो । आइसियु र सामान्य बेड पूरै भरिभराउ । भुइँतलाको बाहिरी पेटीहरूमा बिरामीका लस्कर । आफ्नो भूगोलबाट विस्थापित शरणार्थीले अरू कुनै मुलुकमा शरण लिए जस्तै भयावह दृश्य । कोही भुइँमै पल्टिरहेका अक्सिजन लगाएर । कोही अस्पतालभित्रका खालि भागमा ढलिरहेका, बर्सातमा बाढीले बगाएका वृक्ष जस्तै । यस्ता अकल्पनीय दृश्यसँग मैले जीवनमै पहिलो पटक प्रत्यक्षानुभूति गरिरहेको थिएँ ।
“लौन डाक्टर सा’ब ! मेरो बिरामीको अक्सिजनको लेबल ६५ मा झ¥यो, आइसियुमा राख्ने व्यवस्था गरिदिनुप¥यो,” कोही चीत्कारको भाषा बोल्दै थिए । कोही के के भन्दै थिए । शान्त र स्थिर थिएनन् कोही पनि । मृत्युभयले गाँजेका बेला यस्ता दृश्य ब्युँतिनु स्वाभाविकै होला ! सबैका अनुहारभरि हतास, निराश र सम्भावित भयका विम्ब मात्र मौजुद देखिन्थे । हाँसो, मुस्कान, आशा जस्ता वस्तु बर्सौं पहिले भूसतहमुनि पुरिइसकेका हुन् कि जस्तो लाग्थ्यो ।
बिहान घरबाट निस्किँदा ज्वरोले उच्च शिखर चुमिरहेको थियो । दिउँसो २ बजेतिर भने शरीरले अत्यन्तै फूर्तिलोपन महसुस ग¥यो । अस्पतालको परिसरस्थित लघुबगैँचाछेउ बसिरहँदा हावा चल्यो, सरर्र । शीतल अनुभूति भयो । र, दीपालाई भनेँ, “घर फर्किऊँ होला । मलाई त अहिले धेरै आनन्द महसुस भइरहेको छ । ज्वरो पनि ओर्लिए जस्तो लागिरहेछ ।”
“हैन, एक÷दुई दिन अस्पतालमै बस्नु पर्छ,” उनको आग्रह थियो ।
अस्पतालको परिसरमा टहलिँदा टहलिँदै पाँच÷सात घण्टा गुज्रिसकेको थियो । अस्पतालमा भर्ना हुने टुङ्गो लागिसकेको थिएन अझै । बिरामीहरू थपिने व्रmम जारी थियो । बाहिरको सडक मानिस र सवारीसाधनविहीन भए पनि एम्बुलेन्सको आवाज भने बाक्लै सुन्न सकिन्थ्यो ।
त्यो दिनले बिदा लियो र साँझ भित्रियो । ज्वाइँ आशिषले भने, “अहिले तेस्रो तलाको बेड नम्बर १२ पाइयो । अब एकछिनपछि भर्ना हुनु पर्छ ।”
शरीरमा कुनै स्फूर्ति थिएन । पूरै गायब । १२ नम्बर बेड ताक्दै अस्पतालको मूल गेटमा पुगेर भित्र छिर्नै लाग्दा एउटा हृदयविदारक दृश्यले मनमस्तिष्क पूरै हल्लियो । गेटमा नै एक मृत शरीरसँग जम्काभेट भयो । सम्भवतः ती मृतककी पत्नी हुनु पर्छ, सिङ्गो भवन नै थर्थराउने गरी रोइरहेकी थिइन् । उनलाई एउटा गार्ड र अर्का मानिसले हात समातेर समाल्न खोजिरहेका थिए । उनको कोलाहलमय आवाज झन् तेजिलो बन्दै थियो ।
‘मेरो आत्मबल दह्रै छ’ मेरो यस्तो भ्रमको पर्खाल पनि ढल्न पुग्यो । कोरोनाले एउटा जीवनलाई भर्खरै निलेको ताजा दृश्य आँखैअगाडि देख्दा मेरो आत्मबलको धाक कतिन्जेलसम्म टिक्न सक्थ्यो र ! मन आद्र भयो । हतार हतार लिफ्ट भएतिर गयौँ र पुगेँ, ‘१२ नम्बर’ बेड ।
सबै बिरामीका मुखमा अक्सिजन पाइप । धन्न ! मेरो अक्सिजनको तह ठीक विन्दुमा रहेको हुँदा श्वासप्रश्वास प्रणाली पूर्ववत् नै थियो । अक्सिजनको सहारा लिइरहनु परेन ।
पहिलो रात धेरै पीडा झेल्दै गुजारेँ । एक्लै थिएँ । निद्रा तुहिएको थियो । हरेक क्षण निदाउन प्रयत्न गर्थें तर पूरै असफल । बेडमा उठेर बस्दा अनेक तर्कनाका सिकार बन्थेँ । बेचैनी उत्तिकै । वरपरका बेडमा अक्सिजन–मास्क लगाएर पल्टिरहेका बिरामीलाई हेर्थें । हेर्थें उनीहरूका आफन्तका उद्विग्न मुहार । फुङ्ग उडेका देखिन्थे, खुसीको क्यानभास । सोच्थेँ, कहाँ हरायो मानिसको खुसी, अनुहारको चमक ?
मेरो बेडछेउमै थियो, रेस्टरुम । शरीरले ग्रहण गरेको शिथिलताका कारण बेडबाट उठेर त्यति नजिकैको रेस्टरुमसम्म जान सक्ने हुतिसमेत थिएन । पहिलो रात धेरै मुस्किल र पीडा झेल्दै बिताएँ ।
“भोलि आउँदा ‘कान्तिपुर’ पनि लिएर आऊ है । त्यतिकै बस्दा निकै गाह्रो भो !” अघिल्लो रात नै दीपालाई भनेको थिएँ । मोबाइल र पत्रिका नै समय कटाउने माध्यम थिए ।
ज्वरो आइरहेथ्यो निरन्तर । औषधीको प्रभाव छउन्जेल जिउ हलुका हुन्थ्यो । शरद्कालीन आकाश खुले झैँ छ्याङ्ङ । वैशाख २७ गते मोबाइल खोलेर फेसबुकतिर नजर दौडाउन थालेँ । कसैले एउटा स्टाटस राखेका थिए, “कोरोनाले पशुपति चौलागाईंलाई लग्यो...।”
निःशब्द बनेँ । कैयौँ पटक भेटघाट भएका एक जना राजनीतिज्ञ थिए, दोलखाका चौलागाईं । उनको देहावसानको खबर सुनेसँगै मन विचलित भयो । अब फेसबुक हेर्ने कि नहेर्ने ? द्विविधामा अल्झिरहेको थिएँ । वैशाख २९ गते । त्यो दिन पनि फेसबुक खोलेँ । जीवनचन्द्र दाइ (जीवनचन्द्र कोइराला) पनि कोरोना युद्धमा पराजित बन्नुभएछ । हतप्रभ भएँ । मस्तिष्कभरि जीवनचन्द्र दाइसँग बिताएका पलका साथै सहकार्यसमेत रिल झैँ घुमिरहे, फनफनी । त्यही दिन कठोर घोषणा गरेँ, “आजदेखि बिसेक नहोउन्जेलसम्म म सामाजिक सञ्जालबाट टाढा हुनेछु, कसैका मोबाइल उठाउँदिनँ र पत्रिका पनि पढ्दिनँ ।’
मेरो स्वास्थ्य रिपोर्ट सकारात्मक आइरहेको थियो । कोरोना–निमोनियाले फोक्सोमा आंशिक हमला बोलिसकेको रहेछ । औषधीमाथि औषधी । चिकित्सकहरू र पारिवारिक सल्लाह अनुरूप ‘रेम्डेसिभिर’ चलाउने निष्कर्ष निस्किएछ । बिरामीलाई त्यो औषधी प्रयोग गर्न नेपाल सरकारले अनुमति दिएको थिएन । गैरकानुनी भए पनि महँगो मूल्यमा किनेर प्रयोग गरिँदै भने आएको थियो । एउटै डोजलाई १५ हजारसम्म तिर्न बाध्य थिए । कुनै निश्चित मूल्य थिएन ।
संयोग मान्नु पर्छ, जुन दिन मेरो निम्ति ‘रेम्डेसिभिर’ चलाउने निर्णय भयो, त्यही दिनदेखि सरकारले त्यो औषधीलाई कोरोना बिरामीका लागि चलाउन पाउने अनुमतिसमेत दियो । मूल्य तोकिएको थियो– एक डोजकै चार हजार नौ सय । अस्पतालको बेडमा तेस्रो रात गुजारेपछि ‘रेम्डेसिभिर’ पनि थपियो, मेरो शिथिल शरीरमाथि ।
कोरोनाको दोस्रो लहर भित्रिने पूर्वानुमान व्याप्त थियो । पहिलो लहरले थङ्थिलो तुल्याएको जनजीवनले दोस्रो लहरको सामना कसरी गर्न सक्ला ? यस्तै
अड्कलबाजीबिच वैशाखको पहिलो हप्तातिर दोस्रो लहर भित्रियो । मनसुन भित्रिए जस्तै । चेतावनी दिइरहेको थियो, “दोस्रो लहर निकै घातक हुन सक्छ । सजग रहनुहोला ।”
विराटनगरमा नारायण (कान्छा काकाको छोरा) को बिहे थियो, वैशाख ११ गते । बिहेमा जान तम्सिएँ म । दीपाले भनिन्, “फेरि कोरोना सुरु भएको छ, जोखिम मोलेर नगए पनि हुन्छ ।”
“काकाका चार बहिनी छोरी र शङ्करको बिहेमा जान सकिएन । अब नारायणको मात्र बाँकी छ, जान्छु । केही नहोला,” मैले जिद्दी गरेँ ।
विराटनगरको अत्यासलाग्दो गर्मी । पूरै शरीर पसिनामय । चिसो पेय पदार्थ पिउँदा एकछिन तृप्ति महसुस भए पनि फेरि उस्तै गर्मी । उखरमाउलो । विराटनगरको पाँचदिने बसाइ रमाइलै रह्यो । काकाकाकी, दाजुभाउजू, ससुराबुबा, आमा, जेठान, सालासालीलगायत सबैसितका भेटघाटले बेग्लै उत्साह छाएको थियो ।
वैशाख १३ गते काठमाडाँै फर्किने बेला विराटनगर एयरपोर्टमा अपार भिड लागेको थियो । त्यस समय भारतमा कोरोना व्यापक रूपमा फैलिएको थियो र दोस्रो लहरले अतिप्रताडित मुलुकमा भारत पनि पथ्र्यो । सम्भवतः भारतीय नागरिक पनि नेपालमा सुरक्षित हुने अपेक्षा बोकेर विराटनगर हुँदै काठमाडौँ छिरिरहेका कारण एयरपोर्टमा भिड लागेको हुनुपर्छ । जतिसुकै सतर्क भए पनि मानव संसर्गबाट टाढा हुने अवस्था थिएन ।
काठमाडौँ फर्किएपछिका दिन पूर्ववत् गतिमै बितिरहे । कोरोनाको बढ्दो लहरलाई काबुमा राख्न सक्ने स्थिति थिएन । वैशाख १६ गतेदेखि लकडाउन सुरु भयो । कोरोनाको पहिलो लहर फैलिएपछि २०७६ चैत ११ गतेदेखि प्रारम्भ भएको लकडाउन निकै लामो समय तन्किएको थियो । २०७७ सालको दसैँ–तिहारसम्मै । त्यसपछिका जनजीवन सामान्य अवस्थामा फर्किंदै थियो । कोरोनाविरुद्धको खोप आविष्कार गर्न विभिन्न देशका वैज्ञानिकले अनुसन्धानकेन्द्रहरूमा धेरै दिन बिताइसकेका थिए । वैज्ञानिकको प्रयत्न जारी रहेको हुँदा मानव जातिबिच आशाको सुन्दर इन्द्रेनी टाँगिएको थियो ।
वैशाख १६ गतेपछि भने स्वास्थ्य झन् प्रतिकूल बन्दै गयो । रुघाखोकी र हाच्छिउँले निरन्तरता पाइरह्यो । घरेलु औषधोपचारका साथै औषधी सेवन नियमित चलिरह्यो । कहिले २० पुग्थ्यो, कहिले १९ मा झथ्र्यो । कोरोना सङ्व्रmमण हो कि भन्ने आशङ्का बढिरहेको थियो । पछिल्ला दिनमा ज्वरोले पनि अत्याउन थालेको थियो । वैशाख १३ गते पिसिआर चेक गर्न काठमाडौँ मोडेल अस्पतालमा गइयो । साँझपख रिपोर्ट आयो । सोह्रै आना नकारात्मक । म नजानिँदो रूपले कोरोना सङ्व्रmमित भइसकेछु । अब उपचारविधिलाई पछ्याउनुको विकल्प थिएन ।
मित्र एवं जनस्वास्थ्यविद् डा. रवीन्द्र समीरले कोरोना भएपछि अपनाउनुपर्ने सजगताबारे सामाजिक सञ्जालमा ‘टिप्स’ राखिरहेका थिए । मैले डा. समीरलाई सम्पर्क गरेँ र आफू कोरोना सङ्व्रmमित भएको बताउँदै सुझाव लिन थालेँ । डा. समीरले भने, ‘श्वासप्रश्वासको तह ठिक छ भने घरमै बसेर उपचार गर्नूस् । अहिले अस्पतालमा पनि निकै भिड छ । यदि धेरै गाह्रो भयो भने मात्र अस्पताल जानूस् ।’
डा. समीरको सुझावका साथै आफन्तका सुझावलाई शिरोधार्य गर्दै केहीदिन घरमै बसेर उपचार गरेँ । एक÷दुई दिन ठीकै भए जस्तो लागे पनि निरन्तरको ज्वरो र शरीरले ग्रहण गरिरहेको शिथिलताका कारण अस्पताल जानुको विकल्प रहेन । अन्ततः वैशाख २६ गते अस्पतालको शरणमा परेँ ।
अस्पताल बसाइको दोस्रो रात । निदाउने प्रयत्न व्रmमशः असफलताको दिशातिर डोहोरिँदै थियो । कहिले उठ्ने, कहिले सुत्ने । चलिरहेको थियो यस्तै व्रmम । रात्रिकालीन सन्नाटालाई पूर्णतः बिथोल्दै पल्लो प्यासेजबाट निकै ठुलो र चर्को रुवाबासीको लहर चल्यो । थामिएन रुवाबासी । निकै समय चलिरह्यो । मोबाइल खोलेर समय हेरेँ, रातिको २
बजिसकेको रहेछ ।
मनमनै कल्पिएँ, “आज फेरि कसैले बहुमूल्य जीवनबाट विश्राम लियो !”
चौथो दिन पनि त्यस्तै । बिहानको ४ जति बजेको थियो । एउटी महिला चिच्याउन थालिन् । कसैको रुवाबासी र चिच्याहट सुन्नेबित्तिकै सहज अनुमान लगाउनुपथ्र्यो, “आज फेरि यो संसारबाट कसैले बिदा माग्यो !” होइन रहेछ त्यस्तो । कुनै अशुभ घटना भएको रहेनछ । ती महिलाको आफन्तका अक्सिजनको तह घटेको हुँदा उनले आत्तिएर नर्सलाई खोजेकी रहिछन् ।
चौथो वा पाँचौँ दिन तेस्रो तलाको १२ नम्बरको बेडबाट दोस्रो तलाको सामान्य बेडमा सारियो मलाई । छैटौँ, सातौँ दिनसम्म पुग्दा स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गयो । आठौँ दिन खबर पाएँ, ‘आज डिस्चार्ज हुन्छ ।’
मभित्र अनुपम खुसी भित्रियो । घर फर्किन निकै हतारिएँ । तत्क्षण मैले आफूभित्र सङ्कल्प बीज उमारेँँ, “मेरो अनुपस्थितिमा कोठाका पुस्तक र पत्रिका नियास्रिरहेका होलान् । पत्रपत्रिकामा धुलो जम्न थालिसकेको होला । वा, भित्तामा टाँगिएको क्यालेन्डर पल्टाउन बिर्सेर अघिल्लै महिनाका दिन र तिथि हासिरहेका होलान् । करीपत्ताको बोटबाट झरेका फूलहरूले भुइँ सेताम्यै भइसक्यो होला । नजिकैको टोटालाको रुखमा वासन्ती पवनलाई चाख्दै पन्छीहरूले बहारगीत गाउँदै होलान् ! घर फर्किएपछि अब ती सबै दृश्य र आवाजसँगको सम्बन्धलाई पुनः ताजा तुल्याउने छु ।”
अस्पतालको परिसरमा एउटी नर्स बहिनीले मलाई ह्विलचेयरमा डो¥याएर ट्याक्सी भएतिर लैजाँदै थिइन् । केही पर दुइटी बहिनी उभिइरहेका थिए । एउटीले भने मेरो तस्बिर धमाधम खिच्न थालिन् । म ट्याक्सीमा चढिसकेको थिएँ । एउटी बहिनी आएर सोधिन्, “सर, म केही कुरा सोध्न सक्छु ?”
“हुन्छ, सोध्नोस् न ।”
“तपाईं कोरोनालाई जितेर फर्किनुभएको छ, अस्पताल बसाइको अनुभव र उपचारमा कस्तो सहयोग पाउनुभयो ?” ती बहिनीले सोधिन् ।
मैले आफ्नो अस्पताल बसाइको अनुभूति सङ्क्षिप्त रूपमा बताएँ । भोलिपल्ट सामाजिक सञ्जालतिर नजर दौडाएँ । ‘देशसञ्चार’ मा कार्यरत मित्र मनोज दाहालले स्टाटससँगै समाचार सेयर गरेका रहेछन्, “साहित्यकार मित्र विवश वस्तीले कोरोनालाई जितेर फर्किनुभएको छ, नयाँ जीवन प्राप्तिका लागि उहाँलाई बधाई छ ।”
आफ्नै समाचार पढ्दै गएँ । एउटा हाफसर्ट, हाफपाइन्ट र चप्पल लगाएर शिक्षण अस्पतालको गणेशमान सिंह भवनपरिसरमा ह्विलचेयरमा बसिरहेको आफ्नै तस्बिर देख्दा मनमुटु हुँडलिन पुग्यो ।
सुखद् कुरा । अस्पतालको १२ नम्बर बेडमा भर्ना हुँदा कल्पिएका यी शब्दमाथि भने धेरै हदसम्म इरेजर लागिसकेको थियो, “त्यो नागार्जुनको डाँडापर्तिर मेरो घर छ । म आफ्नो घरमा सकुशल फर्किन सकुँला वा नसकुँला... !”