• १९ असार २०८१, बुधबार

वर्षा नहुँदा बाँकेमा ५५ प्रतिशत खेत बाँझै

blog

सिक्टा सिंचाई आयोजनाको नहरका कारण राप्तीसोनारी ६ का किसान रोपाई गर्दै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन २ गते । साउन महिनाको पहिलो सातासम्ममा पनि बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् । 

जिल्लामा हालसम्म ४५ प्रतिशत मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । सबैभन्दा बढी रोपाई सिक्टाको नहरले धेरै ठाउँ छोएको राप्तीसोनारी गाउँपालिकामा भएको केन्द्रले जनाएको छ । 

नहरका कारण राप्तीसोनारीमा सबैभन्दा बढी ८५ प्रतिशत रोपाई भएको र नरैनापुर गाउँपालिकामा सिँचाइ सुविधा नहुँदा हालसम्म ५ प्रतिशत मात्रै रोपाई भएको केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो । 

गत वर्ष यो समयमा बाँकेमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न भैसकेकोमा अहिले ४५ प्रतिशत रोपाइँ भएको बताउनुभयो । प्रमुख ढकालका अनुसार जिल्लामा ४५ प्रतिशत धान रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा अधिकांश खेतमा धाँजा पर्न थालेको छ । जसोतसो रोपाइँ गरेको धान खेत सुक्दै गएपछि धाँजा परेको हो । 

वर्षा नहुँदा नरैनापुर ४ का नरेश बर्माको बोरिङ गरेर रोपाइँ भएको खेत पनि धाँजा फाटेर चिरिएको छ । आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने बर्माले गुनासो गर्नुभयोे । उहाँले बियाड समेत सुकेर कामै नलाग्ने हुन लागेको बताउनुभयो । केही दिन वर्षा नभए धान उत्पादन धेरै कम हुने उहाँको भनाइ छ ।  

साउनको पहिलो सातासम्म पानी नपरेकाले करिब १५ प्रतिशत धान उत्पादनमा कमी आउने केन्द्र नेपालगञ्जको अनुमान छ । सो कार्यालयका अनुसार किसानले लगाएको धान मर्न थालेकोले लगानी खेर जाने देखिएको उहाँले बताउनुभयो । आकाशे पानीको भरमा रोपाइ गर्ने कृषक चिन्तामा छन् । 

धान खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका अधिकांश स्थानको रोपाइँ प्रभावित भएको जनाउँदै डुडुवाका किसान जगदीश मौर्यले अत्यधिक गर्मी र पानी अभावका कारण जेनतेन लगाएको धान पनि सुक्न थालेको बताउनुभयो ।