• ७ पुस २०८१, आइतबार

शक्ति राष्ट्रको हस्तक्षेप स्वीकार्य छैन : सांसद देव

blog

काठमाडौं, साउन २ गते । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको छ ।

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकूल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको आरोप लगाउनुभयो ।

उहाँले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पार्नुभयो ।

सांसद देवले नेपाललाई कुनै पनि शक्ति राष्ट्रहरुको खेल मैदान बनाउन नहुनेमा राजनीतिक दलका शीर्षनेताको ध्यानाकर्षण गराउनुभयो ।

नेपालको कुनै पनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशका पार्टी–पार्टीबीचको सम्बन्ध राम्रो बनाएको उल्लेख गर्नुभयो ।

सांसद देवले देशको भू–राजनीतिक अवस्था अनुसार छिमेकी देशहरुसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभई पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको  बताउनुभयो ।