• ७ फागुन २०८२, बिहिबार

चुनावी प्रतिबद्धता सार्वजनिक

blog

चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुहुँदै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्ट । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, फागुन ७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले मत माग्न चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । नेकपा (एमाले) बैतडीका संस्थापक र तत्कालीन जिल्ला विकास समितिका सभापतिसमेत रहेका उम्मेदवार भट्ट एमालेबाट विभाजित भएको समाजवादी पार्टी हुँदै हाल एकीकरण भएको नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्छ ।  

चार पेज लामो प्रतिबद्धतापत्रमा उहाँले जिल्लाका मुख्य छ वटा भेगमा सुविधासम्पन्न अस्पताल, गुणस्तरीय शिक्षा, कालोपत्रे सडक, कृषि, होमस्टे, रोजगारी, जडीबुटी उद्योग, धार्मिक पर्यटन, उद्यमशीलता र वन्यजन्तु नियन्त्रण गर्ने विषयलाई समेट्नुभएको छ । सोमबार जिल्ला सदरमुकाम गोठालापानीमा पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार भट्टले सुशासनका लागि स्रोतको न्यायोचित वितरण, रोजगारीका लागि उद्यशीलता, बसाइँसराइ रोक्न गुणस्तरीय शिक्षा र जिल्लाका छ ठाउँमा सुविधासम्पन्न अस्पताल बनाउने बताउनुभयो । 

तत्कालीन जिल्ला विकास समिति बैतडीका पूर्वसभापतिसमेत रहेका भट्टले आफ्नै पालामा सुरु गरेको च्वाँगढ क्षेत्रको बिप्याकटाल–ढुङ्गाढ सडक, दुदिलाखान–गाँजरी–थलाकाँडा सडक, श्रीभावर–बचपानी–शिवलिङ सडक कालोपत्रे गर्ने योजना रहेको सार्वजनिक गर्नुभयो । त्यसै गरी दोगडाकेदार क्षेत्रको खोचलेक–रिम सडक, सदरमुकामदेखि तल्लो स्वराड जोड्ने देहीमाण्डौँ–गिरेगाडा, देहीमाण्डौँ–सलेना सडक र बैतडी–दार्चुला र बझाङ जोड्ने सतबाँझ–श्रीभावर सडकलाई महाकाली कोरिडोरसँग जोड्ने सार्वजनिक  गर्नुभयो ।  उहाँले धार्मिक पर्यटन क्षेत्रमा विगतमा काम गरेको अनुभव सुनाउँदै पातालभूमेश्वर क्षेत्रमा गुरुयोजना अनुसार काम भएपछि अहिले भारतीय पर्यटक आउन सुरु गरेको बताउनुभयो । बैतडीवासीले अमूल्य मत दिएर जिताएमा आफूले ग्वाल्लेक संरक्षित क्षेत्र र सिगास संरक्षित क्षेत्रमा रहेका जडीबुटी र वन पैदावरमा आधारित उद्योग स्थापना गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । 

बाँदरका कारण पछिल्लो समय गाउँका किसान विस्थापित हुन थालेको बताउँदै उहाँले कृषिमा विविधता ल्याएर टिमुरखेती, बेसार, अदुवा र अमिलो जातको फलफूल खेतीलाई प्राथमिकता दिने बताउनुभयो । प्राकृतिक विपत्का हिसाबले जोखिममा परेका ढुङ्गाड क्षेत्र, ढिक, सलेना र गोकुलेश्वरको पहिरो रोकथाम र भूक्षय रोक्ने योजना अघि सार्नुभयो । 

उहाँले जिल्ला अस्पताल बैतडीलाई ५० शय्याको दरबन्दी स्वीकृत गरेर दक्ष जनशक्तिसहित सुविधासम्पन्न स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धतासमेत सार्वजनिक गर्नुभयो । उहाँले रोजगारीका लागि युवा भौँतारिनुपर्ने अवस्था रहेकाले बैतडीमै रोजगारी सिर्जना गर्न फस्फोराइट खानी, फलाम खानी र चुनढुङ्गा उत्खनन एवं अन्वेषणको काम अघि बढाउने बताउनुभयो । 

उहाँको प्रतिबद्धतापत्रमा सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रलाई कृषि होमस्टेमा रूपान्तरण गरेर कृषि पर्यटकसमेत भित्र्याउने बताउनुभयो ।