तनहुँ समाचारदाता
तनहुँ, फागुन ७ गते । तनहुँको सदरमुकाम दमौलीदेखि व्यास नगरपालिकाको केशवटार जोड्ने दमौली–केशवटार सडकखण्डको गुँदी भाग कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । कुल १४ किलोमिटर दुरी रहेको यस सडकको हालसम्म नौ किलोमिटर भाग कालोपत्रे भइसकेको छ भने पाँच किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ ।
यसअघि सात किलोमिटर सडक कालोपत्रे सम्पन्न भएकामा गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपियाँ लागतमा थप दुई किलोमिटर सडक ढलान, नाला निर्माण तथा विस्तारको काम सम्पन्न गरिएको व्यास नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले सडक स्तरोन्नतिलाई नगरको प्राथमिकतामा राखेर चरणबद्ध रूपमा बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले हालसम्म करिब चार करोड रुपियाँ विनियोजन गरिसकेको जानकारी दिनुभयो । प्रदेश सरकारबाट थप एक करोड रुपियाँ पनि सो सडकका लागि विनियोजन भएको छ । सहरी पूर्वाधार विकास तथा शासकीय कार्यव्रmम अन्तर्गत विश्व बैङ्कको करिब छ करोड रुपियाँ ऋण अनुदान स्वीकृत भई दोस्रो चरणको काम अघि बढाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
व्यास नगरपालिका–१३ का वडा सदस्य मधुमाया विकले सडक सुधार भएसँगै दैनिक उपभोग्य सामग्री ढुवानी र बिरामीलाई अस्पताल पु¥याउन सहज भएको बताउनुभयो । उक्त सडकलाई केशवटार, धरमपानी र बन्दीपुर हुँदै पृथ्वी राजमार्गको डुम्रेसँग जोडेर चक्रपथका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
पर्यटकीय नगरी बन्दीपुर पुग्ने छोटो तथा वैकल्पिक मार्गका रूपमा विकास हुँदा जिल्लाको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको व्यास नगरपालिका–१४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताउनुभयो ।