अर्जुन काफ्ले
स्याङ्जा, फागुन ७ गते । फागुन २१ गते हुने सङ्घीय निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा सुरक्षाकर्मी परिचालन कार्य तीव्र पारिएको छ। पहिलो चरणअन्तर्गत निर्वाचन प्रहरीलाई सम्बन्धित कार्यक्षेत्रमा खटाइएको छ।
जिल्लाका ११ पालिकामा रहेका १९९ मतदान स्थलका ३२२ मतदान केन्द्रमा केन्द्रको संख्या र संवेदनशीलता अनुसार निर्वाचन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो।
पालिकागत रूपमा पुतलीबजारमा २९०, भीरकोटमा १४३, वालिङमा २६९, गल्याङमा २५२, चापाकोटमा १८०, कालीगण्डकीमा १८४, हरिनासमा १४८, बिरुवाामा १३३, अर्जुनचौपारीमा ११७, फेदीखोलामा ९१ र आँधीखोलामा १४० जना निर्वाचन प्रहरी खटाइएको छ।
यहाँ कुल दुई हजार १२४ जना निर्वाचन प्रहरी आवश्यक पर्नेमा हालसम्म एक हजार ९४७ जना परिचालन गरिएको एसपी न्यौपानेले बताउनुभयो। मतदान केन्द्रमा निर्वाचन प्रहरी मात्र पर्याप्त नहुने भएकाले अन्य सकल दर्जाका प्रहरीलाई समेत केन्द्रको संख्या र संवेदनशीलता अनुसार खटाइने र आवश्यक जनशक्ति माग गरिएको उहाँले स्पष्ट पार्नुभयो।
यसैगरी सशस्त्र प्रहरीले निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत पुतलीबजार र क्षेत्र नम्बर–२ अन्तर्गत गल्याङमा टोली परिचालन गरेको छ। पालिकास्तरमा मोबाइल र स्ट्राइकिङ टोली खटाउने तयारी गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुमार तिमिल्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार १८९ जना सशस्त्र प्रहरीसमेत परिचालन गरिनेछ।
नेपाली सेनाले पनि प्रत्येक पालिकामा क्याम्प स्थापना गरी सुरक्षा व्यवस्था सुदृढ बनाएको छ। निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला निर्वाचन सुरक्षा समितिले मतदान स्थलको अनुगमनपछि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन थालेको जनाएको छ।