दमक समाचारदाता
दमक, फागुन ७ गते । झापा क्षेत्र नं. ३ मा आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पुराना दल आफ्नो आधारक्षेत्र जोगाउन कसरत गरिरहेका छन् भने संसदीय निर्वाचनमा पहिलो पटक भाग लिएकाहरू त्यसमा चुनौती थपिरहेका छन् ।
जम्मा पाँच वटा निर्वाचन क्षेत्र भएको झापामा राजनीतिमा स्थापित र कहलिएका उम्मेदवारदेखि संसदीय अभ्यासमा नयाँ उम्मेदवारबिचको प्रतिस्पर्धा रोचक मतदाताको आकलन रहेको छ ।
अघिल्ला निर्वाचनमा उम्मेदवार प्रायः ठाउँ ठाउँमा सभा गर्ने र सामूहिक रूपमा मत माग्ने गर्थे । यस पटक भने उम्मेदवार मतदाताका घर घर, पसल पसल र खेतबारीसम्मै पुगेको देखिन्छ । गठबन्धनविहीन रूपमा उम्मेदवारहरू आफ्नो पार्टीको पक्षमा मत माग्दै आएका छन् ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई नयाँ उम्मेदवारको चुनौती थपिएको छ । उहाँ आफ्नो निर्वाचन क्षेत्रमा मतदाताको घरदैलोमा पुगेर मत माग्दै गर्नुभएको छ ।
विसं २०७४ र २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई लिङ्देनले पराजित गर्नुभएको थियो । यी दुवै निर्वाचनमा नेकपा (एमाले) सँंग तालमेल रहेको थियो । यस पटक भने सिटौलाको ठाउँमा नेपाली कांग्रेसले राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आउनुभएको हो ।
विसं २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा सिटौलाले यो क्षेत्रमा जित हासिल गर्नुभएको थियो । यसभन्दा अघि २०५६ को उपनिर्वाचनमा सिटौलाले नै जितेको क्षेत्र हो । नेकपा (एमाले) का दोर्णाचार्य सिजापतिको निधनपछि यहाँ उपनिर्वाचन भएको थियो । यस क्षेत्रलाई नेपाली कांग्रेस नेता सिटौलाको आधारक्षेत्रका रूपमा व्याख्या गरिन्थ्यो । २०४८ पछि सिटौला यहाँ सात पटक उम्मेदवार बन्नुभएको थियो ।
नेकपा (एमाले) सँगको तालमेलमा पछिल्लो दुई पटक लिङ्देन विजय भएपछि यहाँको समीकरणमा फेरबेदल आएको छ । नयाँ राजनीतिक दल रास्वपा पनि थपिएपछि यहाँको प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।
नेकपा (एमाले) बाट संविधान सभाका निवर्तमान सदस्य हरिबहादुर राजवंशी उम्मेदवार भएर मत मागिरहनुभएको छ । आदिवासी समुदायको बाहुल्य रहेको यस क्षेत्रमा एमालेले १२ वर्षपछि भोट हाल्दै छन् । शिक्षण पृष्ठभूमिबाट आएका राजवंशी समानुपातिकबाट संविधान सभा सदस्य बनेको भए पनि प्रत्यक्ष निर्वाचनमा उहाँको यो पहिलो प्रतिस्पर्धा हो । पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादीले यो निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो । कांग्रेसका सिटौलालाई हराउँदै माओवादीका पूर्णसिंह राजवंशी उम्मेदवार बन्नुभएको थियो । अहिले नेकपाबाट यहाँ डिल्लीराम घिमिरे मत माग्दै आउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा जिल्ला कार्यवाहक सभापति प्रकाश पाठक यहाँ उम्मेदवार रहनुभएको छ । यो क्षेत्रमा १७ उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ । एक लाख ४० हजार ८५७ मतदाता रहेका छन् । यसमा नौ हजार चार सय नयाँ मतदाता थपिएका छन् ।