• ७ फागुन २०८२, बिहिबार

धनकुटामा नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

blog

नेपाली कांग्रेस धनकुटाद्वारा आगामी निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गर्दै। तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, फागुन ७ गते ।
नेपाली कांग्रेस धनकुटाले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ। नेपाली कांग्रेस निर्वाचन मूल प्रचारप्रसार समिति धनकुटाले धनकुटास्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरेको हो।

कार्यक्रममा कांग्रेस धनकुटाका उम्मेदवार दिनेश राईले धनकुटा–हिले–उत्तरपानी–पाख्रीबास–सिधुवा क्षेत्रलाई समेटेर बृहत् नगर निर्माण गर्ने मुख्य संकल्प प्रस्तुत गरिएको जानकारी दिनुभयो। उहाँले हरेक निर्वाचनमा एउटै प्रतिबद्धता दोहो¥याएर मत माग्ने चलन अब अन्त्य हुनुपर्ने उल्लेख गर्दै यसपटकको घोषणापत्रलाई धनकुटा विकासको स्पष्ट खाकाका रूपमा लिन आग्रह गर्नुभयो।सार्वजनिक गरिएको संकल्प सूचीमा धनकुटा–हिले–पाख्रीबास–उत्तरपानी–सिधुवा क्षेत्र समेटेर बृहत् नगर निर्माण, पर्यटन प्रवद्र्धनका लागि ‘हिमालघर’ निर्माण, कोशी राजमार्गको २५ मिटर मापदण्ड पुनरावलोकन, ‘एक पालिका–एक रंगशाला’ अवधारणा, बाँदर तथा जंगली जनावर नियन्त्रण, गाँजा खेती वैधानिकीकरणका लागि पहल तथा ‘कोखदेखि शोकसम्म’ सेवा सुनिश्चित गर्ने कार्यक्रम समावेश छन्।

त्यसैगरी आठपहरिया जातिको सूचीकरण पहल, धनकुटामा लगानी भित्र्याउने योजना, व्यवस्थित सहर र उर्वर गाउँ अभियान, धरान–लेउती सुरुङमार्ग निर्माण तथा राजरानी खेलमैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रूपमा विकास गर्ने लक्ष्यसमेत घोषणापत्रमा उल्लेख गरिएको छ।

उम्मेदवार राईका अनुसार कृषि उत्पादनको मूल्य किसानमैत्री बनाइने, बजार पहुँच विस्तार गरिने तथा उत्पादनमुखी नीति अवलम्बन गरिनेछ। धनकुटाको समग्र विकासका लागि पर्यटनलाई मुख्य आधार बनाएर अघि बढ्ने र प्राविधिक शिक्षामा विशेष जोड दिइने उहाँले बताउनुभयो।

धनकुटालाई शिक्षा, स्वास्थ्य र पर्यटनको ‘हब’का रूपमा विकास गर्ने लक्ष्यसहित योजना अघि सारिएको उल्लेख गर्दै उहाँले पूर्वी पहाडको महत्त्वपूर्ण भागमा अवस्थित धनकुटा सम्भावनाले भरिपूर्ण क्षेत्र भएकाले त्यसको प्रभावकारी सदुपयोग आवश्यक रहेको धारणा राख्नुभयो।