• १३ साउन २०८१, आइतबार

सीसीटीभीको गहिराइमा पुगेर अध्ययन हुन्छ, तोडमोड हुन दिन्नौँ : प्रदीप ज्ञवाली

blog

काठमाडौं, साउन २ गते । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको आरोप लगाउनुभयो । उहाँले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्ने कुरा मात्रै रहेको उल्लेख गर्नुभयो ।

आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी उपमहासचिव ज्ञवालीको छ ।

उहाँले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरी तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले राज्य डरलाग्दो रुपमा बिचौलियाहरुको नियन्त्रणमा जान थालेको दाबी गर्नुभयो । उहाँले अहिलेको गठबन्धन सरकाराई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तीय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाउनुभयो ।

उपमहासचिव ज्ञवालीले अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उल्लेख गर्नुभयो । उहाँले हातहतियारसम्बन्धी सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा उल्लेखित वाक्य र व्यक्तिको दुस्साहसले नै अहिलेको गठबन्धनको तस्बिर देखाउने बताउनुभयो ।

उहाँले भिडियो पुरानै भएको खण्डमा पनि अहिलेको सरकारको अवस्था त्यो भन्दा फरक नरहेको जिकिर गर्नुभयो । उपमहासचिव ज्ञवालीले उक्त भिडियोले नेपालको अहिलेको कुरुप तस्बिर देखाएको बताउनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, “रातारात धनी बन्ने, छोटो बाटोबाट धन कमाउने मनोविज्ञान नेपाली समाजमा बन्दा त्यसले खतरा निम्त्याइरहेको छ, शेयर र जग्गामा लगानी बढ्नु त्यसको दृष्टान्त हो ।” राज्यको शोषणमा सबैभन्दा बढी श्रमिक पर्ने गरेपनि अहिलेको अवस्थामा उपभोक्ताहरु पीडित भइरहेको उहाँले बताउनुभयो । उपभोक्ता हितलाई साझा मुद्दा बनाएर जनदवाव दिनुपर्छ, अर्को विकल्प छैन उहाँले भन्नुभयो । 

उपमहासचिव ज्ञवालीले सरकार विद्युतीय सवारीसाधन मुख्य शहरमा चलाउने कुरामा गैर जिम्मेवार भएर बसिरहेको आरोप लगाउनुभयो । पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा एमाले नेता एवम् नेकपा एमालेका उपभोक्ता हित संरक्षण तथा सुशासन विभागका अध्यक्ष यज्ञराज सुनुवार पनि उपस्थित रहनुभएको थियो । समितिले पछिल्लो एक वर्षमा देशका प्रमुख आर्थिक सूचकहरुको अवस्था, खाद्य तथा पेय पदार्थमा भएको मूल्यवृद्धिको अवस्था, इन्धनको मूल्यवृद्धिको अवस्था, दैनिक उपभोग्य खाद्य वस्तुको मूल्यवृद्धिको अवस्था, निर्माण सामग्रीको मूल्यवृद्धिको अवस्था र पिछडिएको क्षेत्र कर्णालीको मूल्यवृद्धिको अवस्थाका बारेमा पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण तथा सुशासन विभागका सदस्य कुमारी खरेल, कन्ज्यूमर आइ नेपालकी विमला खनालले उपभोक्ता हितको पक्षमा राज्य अनुदार बन्दै गएकाले सामुहिक रुपमा संघर्ष गर्नुपर्ने बताउनुभयो । बजारमा बढेको अचाक्ली र मनपर्दी मूल्यबृद्धिले उपभोक्ता पीडित भइरहेको उहाँहरुले बताउनुभयो ।