नवराज नेपाली
बागलुङ (गलकोट) फागुन ७ गते । यही फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांगेस बागलुङ–१ ले चुनावी अभियानलाई तीव्र बनाएको छ । कांग्रेस बागलुङले बरेङ गाउँपालिकामा आफ्नो अभियान सञ्चालन गरेको हो ।
कांग्रेसका उम्मेदवार भीम श्रीस रानासहितको टोलीले बरेङ गाउँपालिकाका विभिन्न वडामा घरघरमै पुगेर मतदातालाई भेटेका हुन । उम्मेदवारले घर घरमा पुगेर जनताका समस्यालाई बुझ्दै र आफुले यस क्षेत्रको विकासका निम्ती खेल्न सक्ने भूमिकाको बारेमा छलफल गरेका छन् ।
समानुपातिक उम्मेदवार सकुन्तला शर्मासहित नेपाली कांग्रेस बागलुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापा, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी गौतम, तरुणदलका केन्द्रीय सदस्य शेरबहादुर विक, नेविसंघका पूर्व अध्यक्ष एवं काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष खड्का लगायतका नेताहरुले घरदैलोमा पुग्नुभएको थियोे । उम्मेदवारलाई जनताले यस क्षेत्रमा अधुरा रहेका काम सम्पन्न गर्नका लागि आग्रह गर्नुभएको थियोे । उहाँहरुले देशमा राजनितिक स्थायित्व र जनताका आधारभुत आवश्यकता सहजरुपमा पुरा गर्ने निति ल्याउन श्रीसलाई आग्रह गर्नुभएको थियोे ।
स्थानीय जनताहरुले यस पटक यस क्षेत्रकै प्रतिनिधिलाई भोट गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको थियोे । श्रीसले मतदातासँग आफ्नो पहिलो प्राथमिकता भनेको जनताका लागि सहज हुने नीति परिवर्तन र यस क्षेत्रको विकास रहेको बताउनुभएको थियोे । उहाँले आफु यस क्षेत्रका जनतासँग निरन्तर संवादमा रहेको हुँदा निर्वाचन जितेपनि हारे पनिसँगै रहने बाचा समेत गर्नुभएको थियोे । श्रीसले यहाँका जनताको अमुल्य मतको सम्मान हुने काम गर्ने गरी अगाडि बढेको बताउनुभएको थियोे ।
समानुपातिकका उम्मेदवार शकुन्तला शर्माले कांग्रेस नविन र नयाँ सङ्कल्पका साथ अगाडी आएको हुँदा यस पटक रुख चिन्हमा मतदान गरी कांग्रेसलाई बहुमत दिन आम मतदातालाई आग्रह गर्नुभएको थियोे । उहाँले देशमा अनुभवी र दक्ष नेतृत्व आवश्यक रहेको र त्यो कांग्रेसमा सम्भव रहेको बताउनुभएको थियो ।
विहान बरेङ गाउँपालिका–५ सुखौराको भित्रिवनबाट सुरु भएको अभियान वडा नम्बर ४ को सल्यान, थप्लुङ वडा नम्बर ३ को बाटाकाचौर नयाँ बजार, धनमुढा, नेटकापखरा वडा नम्बर २ हुग्दिशिरको कापलठुटा, घट्ट बाराकोट र बरेङ बजारका मतदातालाई भेटघाट गरिएको थियो ।