• ६ फागुन २०८२, बुधबार

बडिगाडमा जिप दुर्घटना : घाइतेको गलकोटमा उपचार सुरु

blog

बडिगाडको तीनधारेमा दुर्घटना भएको जिप । तस्बिर: रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन ६ गते । बागलुङको बडिगाड गाउँपालिका–८, तीनधारेमा बुधबार बिहान भएको जिप दुर्घटनाका घाइतेको गलकोट नगर अस्पतालमा उपचार सुरु भएको छ ।

बडिगाडबाट गलकोट नगरपालिका–३, हटियातर्फ जाँदै गरेको ग ३ च ६५२१ नम्बरको जिप दुर्घटनामा परेको हो । उकालो चढ्ने क्रममा ब्रेक फेल भएर गाडी अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुर्घटनामा घाइते हुनुभएका ७२ वर्षीय यमबहादुर श्रीस र ५७ वर्षीय वेदबहादुर श्रीसको अहिले गलकोट नगर अस्पतालमा उपचार भइरहेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिनुभयो । यमबहादुरको दायाँ निधार, खुट्टा र टाउकोमा चोट देखिएको छ भने वेदबहादुरको भित्री चोट देखिए पनि बाहिर कतै चोट नरहेको डा. पौडेलले बताउनुभयो । उहाँका अनुसार दुवैको अवस्था मध्यम रहेको छ ।

जिपमा सवार पाँच जनामध्ये एक जना सकुशल रहनुभएको छ । ४० वर्षीय लीलबहादुर श्रीस र सवारी चालक २० वर्षीय सुनील विकलाई सामान्य चोट लागेको गलकोट नगरपालिका–१०, पाण्डवखानीका पूर्व वडाध्यक्ष तिलक घर्ती मगरले जानकारी दिनुभयो ।