अमरराज नहर्की
तनहुँ, फागुन ६ गते । तनहुँको देवघाट गाउँपालिकाबाट प्रहरीले दुई थान अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । देवघाट–४ स्थित रिस्ती खोला नजिकैबाट स्थानीय ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको नियमित गस्ती टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा बारुद भरिएको एक नाले दुई थान भरुवा बन्दुक फेला पारेको थियो। प्रहरीका अनुसार उनीहरूको साथबाट १३ ग्राम ५०० मिलीग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ र फलामका टुक्राहरू समेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले अवैध हतियार नियन्त्रण गर्ने अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयाे। “हाम्रो गस्ती टोलीले ग्रामीण भेगमा सुरक्षा निगरानी बढाउने क्रममा हतियारसहित उनीहरूलाई फेला पारेको हो,’’ सूचना अधिकारी विकले भन्नुभयो, “अवैध हतियार राख्नु कानुनतः दण्डनीय अपराध भएकाले उनीहरूमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइएको छ ।’’
पक्राउ परेका दुवै जनालाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । उनीहरूले सो हतियार कुन प्रयोजनका लागि बोकेका थिए भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।