विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन ६ गते । स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन सम्पन्न गर्न पत्रकार र सञ्चारगृहले निर्वाचन आचारसंहिताका साथै पत्रकार आचारसंहिताको पालना गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिनुभएको छ ।
अमुक उम्मेदवार वा अमुक दलको प्रचारप्रसारमा कुनैपनि मिडिया र पत्रकार लाग्न नहुने भन्दै वक्ताहरुले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभएको हो ।
राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवको अवसरमा राजविराजमा बुधबार आयोजित ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मतदाता शिक्षासँग सम्बन्धित विषयवस्तु मिडियामार्फत प्रवाह गरी मतदातालाई मनपरेको उम्मेदवार छनोट गर्न सहज बनाउने भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सफलपुर्वक सम्पन्न गराउने दायित्व सबैको भएकोले उम्मेदवार देखि पत्रकारसम्म सबैले स्वनियमनको सिद्धान्त अपनाएर आचारसंहिता पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले केही पत्रकार तथा सञ्चार माध्यमहरु निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीत चुनावी प्रचारमा संलग्न भएकोले यस्तो कार्यबाट निष्पक्षता माथि प्रश्न उठ्ने हुँदा जिम्मेवार भएर पत्रकारिता गर्न संञ्चारकर्मीहरुसंग आग्रह गर्नुभयो ।
रासस राजविराज सप्तरीका प्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष बिष्णुकुमार मंडल, बैद्यनाथ झा, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउत सहितका वक्ताहरुले पत्रकार र सञ्चारमाध्यमले निष्पक्षता कायम राख्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुलचन्द्र न्योपाने, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रोशन बुढाथोकी सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।