• ६ फागुन २०८२, बुधबार

'भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनुस्'

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ।

काठमाडाैँ, फागुन ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ । 

बुधबार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । वरिष्ठ नेता साहले आफूहरू भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गर्नुभयो । 

उहाँले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिएपनि कामको लिस्ट दिए हुने वरिष्ठ नेता साहको भनाइ थियो । सो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार समेत रहनुभएका साहले आँखाबाट चश्मा खोल्दै आफ्नो आँखा नभई काम हेर्न पनि सबैलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, "तपाईंहरूलाई यहाँ आएर भेट्न पाइयो । धेरै खुसी लाग्यो । म धेरै बोल्ने मान्छे होइन । राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग भोट माग्न आएको होइन, काम माग्न हो । काम दिनुस् है । तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो । के के काम छ, हाम्रा उम्मेदवारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु । भोट नदिए पनि हुन्छ बरु, कामको लिस्ट दिनु । काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । आँखा हेर्नु पर्दैन काम हेरे हुन्छ, हामी काम गरेर देखाउँछौँ ।"

वरिष्ठ नेता साहले गरिबको पक्षमा आफूहरूले काम गर्ने समेत बताउनुभयो ।