• १९ असार २०८१, बुधबार

एम्बुलेन्सको मनपरी भाडादर

blog

तानसेन समाचारदाता

पाल्पा, साउन २ गते ।बिरामी बोक्ने एम्बुलेन्सले आफूखुसी भाडा असुल गर्न थालेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटबढको एम्बुलेन्सले आफूखुसी भाडा असुल गर्न बाटो खुलेको हो । केही वर्षअघि निर्धारण भएको एम्बुलेन्सको भाडामा समयअनुसार परिमार्जन हुन नसक्दा एम्बुलेन्स सञ्चालकले फरक–फरक भाडा असुल गर्ने गरेका छन् ।

एउटै दूरीको रुटमा पनि एम्बुलेन्सले फरक–फरक भाडा लिने गरेको सेवाग्राहीको गुनासो छ । केही वर्ष अघिसम्म पाल्पामा सञ्चालित २३ वटा एम्बुलेन्सले दूरी र सडकको अवस्थाअनुसार भाडादर एउटै बनाएर कार्यान्वयनमा ल्याएका थिए तर पछिल्लो तीन वर्षयता एम्बुलेन्सले आफूखुसी भाडा लिने गरेका छन् । 

पाल्पा जिल्लाभर सञ्चालित एम्बुलेन्सले संस्थाअनुसार फरक–फरक भाडा लिने गरेको बिरामीका आफन्तको भनाइ छ । एउटै दूरीमा एकै खालको सुविधा दिने एम्बुलेन्सको भाडा पनि फरक–फरक पाइयो तानसेन–७ का सुदीप थापाले भन्नुभयो, “बिरामीलाई सहज हुने गरी एम्बुलेन्सको भाडा एउटै बनाउनुपर्छ ।” 

एम्बुलेन्सको सेवा लिएका बिरामीका आफन्तले कच्ची र पक्की सडकको भाडासमेत एउटै तिर्नु परेको गुनासो गरेका छन् । एम्बुलेन्सको भाडा कच्ची र पक्की सडकमा फरक हुनुपर्ने भए पनि आफूले कच्ची सडककै सरह महँगो भाडा तिरेको रैनादेवी छहरा–५ का रामबहादुर बमरेलले गुनासो गर्नुभयो । तेल महँगो भएको भन्दै एम्बुलेन्स चालकले बिरामी बोकेको भाडा एक वर्षअघिको तुलनामा दोब्बर लिएको उहाँले गुनासो गर्नुभयो । 

पहिलो पटक कोरोना सङ्क्रमण भएपछि स्थानीय तह, जिल्लाका ठूला चार अस्पताल तथा विभिन्न सङ्घ, संस्थाले सञ्चालनमा ल्याएका एम्बुलेन्सले भाडा आफूखुसी तोकेका थिए । त्यसपछि एम्बुलेन्सको भाडा निर्धारण गरिएको छैन । एम्बुलेन्स सञ्चालन गर्ने पालिका, अस्पताल तथा सङ्घ, संस्थाको आआफ्नै प्रकारको भाडा रहेको मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताउनुभयो । एम्बुलेन्स सञ्चालन गर्ने सबै सङ्घ, संस्था बसेर भाडादर निर्धारण गर्नुपर्ने भए पनि बैठक बस्न नसकेको उहाँले बताउनुभयो । 

केही वर्ष अघिसम्म रेडक्रस सोसाइटीको पहलमा कच्ची र पक्की सडकको प्रतिकिमिअनुसारको भाडा कायम गरिएको थियो तर पेट्रोलियम पदार्थमा भइरहेको निरन्तरको घटबढका कारण भाडादर मिलाउन समस्या भएको नेपाल परिवार नियोजन सङ्घ पाल्पाका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताउनुभयो । 

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले भने एम्बुलेन्सको भाडामा एकरूपता कायम गर्न छिट्टै बैठक गरिने बताउनुभयो । एम्बुलेन्सको भाडाको विषयमा आफूकहाँ प्रत्यक्ष गुनासो नआएको बताउँदै उहाँले विभिन्न सङ्घ, संस्थासँगको छलफलपछि भाडादर निर्धारण गरिने बताउनुभयो ।