गुणबहादुर रोका
सुलीकोट, फागुन ६ गते । हिमाली पारीको गाउँपालिका चुमनुब्री गाउँपालिकाको सामा गाउँ र साम्दोका बासिन्दाले तीन महिनापछि बिजुली बाल्न पाएका छन् । सामागाउँ जलविद्युत् आयोजनाको उपकरण मर्मत सम्पन्न भएसँगै विद्युत् आपुर्ति सुचारु भएको छ ।
लघुजलविद्युत् आयोजनाका अध्यक्ष वीरबहादुर लामाका अनुसार जलविद्युत् आयोजनाको मेसिनमा प्राविधिक समस्या आएपछि तीन महिनादेखि बन्द रहेको आयोजना हाल पूर्णरूपमा सञ्चालनमा आएको छ ।
हिमालपारीको दुर्गम क्षेत्रमा पर्ने यी ठाउँ मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिका–१ मा पर्छन् । यहाँ हालसम्म मोटरबाटो नपुगेकाले मर्मत कार्य चुनौतीपूर्ण बनेको थियो । अध्यक्ष लामाले भारतबाट आवश्यक उपकरण झिकाएर हेलिकाेप्टर मार्फत ढुवानी गरी मर्मत गरिएको जानकारी दिनुभयो ।
धेरै सकस गरेर बेहोरेर बल्ल बल्ल आयोजना सञ्चालनमा ल्याउन सफल भयौँ, अध्यक्ष लामाले भन्नुभयो, ‘सामागाउँ र साम्दोमा बिजुली सेवा अवरुद्ध हुदाँ स्थानीय बासिन्दा र आन्तरिक तथा बाह्रय पर्यटकहरू अध्यारोमा बस्न बाध्य भएका छन्।’
उत्तरी गोरखामा विशेष गरी चिसोयाममा विद्युत् अभावले दैनिकी प्रभावित भएको थियो । ल्होसार पर्वको अवसरमा पुन बत्ती बाल्न पाउँदा स्थानीय गाउँलेहरू खुसी भएका सामागाउँका स्थानीय दोर्जे लामाको भनाइ छ ।
चुमनुब्री गाउँपालिका–१ का वडाध्यक्ष कर्मा छेवाङले लामोसमय पछि विद्युत् सेवा सुचारु हुदाँ स्थानीयमा उत्साह छाएको बताउनुभयो । करिब ५ वर्षअघि कादुरी नामको संस्थाको सहयोगमा सामागाउँ जलविद्युत् आयोजनाबाट १०० किलो वाट क्षमताको विद्युत् उत्पादन सुरु भएको थियो ।
यस आयोजनाबाट सामागाउँ र साम्दोका करिब ३ सय घरधुरी लाभान्वित छन् । दुर्गम भौगोलिक अवस्थाका कारण सामान्य मर्मत सम्भारमै समय र लागत बढी लाग्ने भए पनि स्थानीयको सामुहिक प्रयासबाट आयोजना जोगाउँदै आएका छन् ।
विद्युत् सेवा पुन सञ्चालनमा आएसँगै स्थानीय जनजीवन सहज बन्दै गएको वडाध्यक्ष छेवाङ लामाले बताउनुभयो ।