• ६ फागुन २०८२, बुधबार

जनकपुरमा नेपाली कांग्रेसको सभा

blog

जनकपुरधाममा आयोजित चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिकीकरण कार्यक्रममा सहभागी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायत नेता । तस्बिर: अजय शाह

अजय शाह

गौशाला (महोत्तरी), फागुन ६ गते । नेपाली कांग्रेसको चुनावी 'प्रतिज्ञापत्र' सार्वजनिकीकरण कार्यक्रम जनकपुरधाममा सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यमा मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभा भएको हो ।

प्रतिज्ञा सभामा सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेसको ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना गरिएको यो सभालाई कांग्रेसले मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने अवसरका रूपमा लिएको छ ।

मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेस नेताहरूले बताएका छन् । मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।

यादवले भन्नुभयो, “नेपाली कांग्रेसका सभापति गगनकुमार थापा स्वयं मधेसको जिल्ला सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेर मधेसी जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबिचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।”


मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अगाडि बढ्ने अठोट यादवले व्यक्त गर्नुभयो । प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट उल्लेख्य सङ्ख्यामा मतदाताको सहभागिता रहेको छ ।