गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ६ गते । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) बाट उम्मेदवार रहनुभएका नेता ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदातासँग भेटघाट तीव्र पार्नुभएको छ । नेता पोखरेलले घरदैलोको क्रममा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुँदै आफ्ना योजना सुनाइरहनुभएको छ।
टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पोखरेलले एमाले देश बनाउने शक्ति भएको बताउनुभयो । पार्टीले सधैं देश निर्माणका लागि काम गर्दै आइरहेको छ, उहाँले भन्नुभयो ।
“एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन” पोखरेलले भन्नुभयो, “एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बिचमा पुगेर पार्टीका एजेन्डा राख्न होस् । जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुहोस् । नेता पोखरेलले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही बाटोमा ल्याउन देशभर एमालेको जित आवश्यक रहेको औँल्याउनुभयो ।
घरदैलोको क्रममा नेता पोखरेलले २१ फागुनमा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रका लागि आफूले तयार पारेका विकासका योजनाहरू जनतासमक्ष प्रस्तुत गर्नेकाम भइरहेको बताउनुभयो । काठमाडौं क्षेत्र नम्बर ५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहित पोखरेल मत माग्न मतदाताको घरदैलोमा व्यस्त हुनुहुन्छ ।