• ६ फागुन २०८२, बुधबार

चलान पाएनन् उखु किसानले

blog

मिलको तौल काँटामा उखुको चलान पुर्जी लिई उखु तौलन प्रतीक्षारत किसान । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

धनकौल (सर्लाही), फागुन ६ गते । सर्लाहीको बरहथवा नगरपालिका–१३, बसबरियागाउँका महमजान मियाँले १० कट्ठाको उखु काटेर राखेको १२ दिन भयो तर चिनी मिलसम्म उखु ल्याउन चलान पाउनुभएको छैन ।  चिनी मिलले उद्योगमा उखु ल्याउनुअघि किसानलाई चलान पुर्जी (उखु ल्याउने अनुमतिपत्र) दिनुपर्ने हुन्छ । खेतमा काटेर थुपारेको उखु सुक्न लाग्दासमेत चिनी मिलले चलान दिन अझै पनि आनाकानी गरिरहेको मियाँले गुनासो गर्नुभयो । 

इन्दुशङ्कर चिनी उद्योग हरिवनले गाउँनजिकै लालदियरमा राखेको उखु तौल काँटामा चलान पुर्जीका लागि जाँदा मिलका जेटिएले बेवास्ता गरेका मियाँको दुःखेसो छ । “उखु काटेर राखेको १२ दिन भइसक्यो तर मिलका जेटिए कहाँ जाँदा चलान नै छैन भनिरहेका छन्,” उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “काटेको उखु सुक्न नपाओस् भनेर खेतमै पत्करले छोपेर राखेको छु ।”

चिनी मिलले आफ्नो जिल्लाको मात्र उखु खरिद गर्ने र त्यसमा पनि जिल्लाभित्रका चिनी मिलले आआफ्नो क्षेत्रको उखु उठाउने भन्ने निर्णय गरेपछि किसानलाई चलान लिनका लागि असाध्यै गाह्रो परेको छ । मिलमा आएर उखु थुप्रिएपछि चिनी मिलले थोरै थोरै मात्रामा चलान दिँदा किसानले धमाधम काटिरहेको उखु खेतमै सुक्न थालेको हो । 

रामनगर गाउँपालिका–२, खैर्बा इनर्बाका रामप्रवेश यादवले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा उखुको ट्याक्टर लिएर आएको दुई दिन भयो । चिनी मिलबाट चलान लिएर उखु तौल गर्न यादव उद्योगको उखु यार्डमा ट्याक्टर राखेर पालोमा बस्नुभएको छ । 

यादवले धनकौल चिनी मिलबाट चलान पुर्जी पाउन चार दिनसम्म पालो कुर्नु परेको गुनासो गर्नुभयो । “मिलका जेटिएलाई फोन गरेर उखु लिएर आएको हो तर चलान कहिले पाउने भन्ने निश्चित नै छैन्,” यादवले भन्नुभयो, “दुई दिन लाइनमा बसे, अब अझै दुई दिन जति लाइन बस्नु पर्छ होला ।”

तीन बिघामा उखु खेती गर्नुभएका यादवले यस वर्ष चलान पुर्जी नपाएर प्रत्येक जसो किसान हैरान रहेका जानकारी दिनुभयो । बसबरिया गाउँपालिका–१, मानपुरका अशोककुमार यादवले एक साता पालोमा बसेपछि मङ्गलबार बल्ल चिनी मिलबाट चलान पुर्जी पाउनुभएको छ ।

पहुँच भएकाले तत्कालै चलान पाएर उखु बिक्री गरिरहे पनि पहुँच नै नभएका किसानलाई चलान पुर्जी पाउन साह्रै समस्या रहेको यादवले गुनासो गर्नुभयो । “एक बिघामध्ये १० कट्ठाको उखु काटेको १५ दिन भयो, मङ्गलबार बल्ल चलान हात लागेको छ,” यादवले भन्नुभयो, “चिनी मिलको तौल काँटामा ट्याक्टरको टेलरसहित उखु लगेर राखेकै आठ दिन भयो बल्लतल्ल चलान पाएँ, अब भने टेलर खाली हुन पायो ।”

यसअघि किसानले आफूलाई अनुकूल हुने र खाली रहेको चिनी मिलमा लगेर उखु बिक्री गर्ने गरेका थिए । “मिलले सिस्टम र समय नमिलाउँदा उखु किसानलाई यस्तो आपत् आइलागेको हो,” यादवले भन्नुभयो, “अघिल्ला वर्षमा यस क्षेत्रका किसानले सर्लाहीकै महालक्ष्मी चिनी मिल बगदह तथा रौतहटको डुमरिया र महोत्तरीको रामनगर चिनी मिलमा समेत लगेर उखु बेच्थे तर यस वर्ष मिलले राखेको नियमले झनै मार परेको छ ।”

चिनी उद्योगले तालिका मिलाएर पालैपालो चलान दिने र त्यसपछि मात्र उखु कटान गर्न लाउँदा अहिलेको समस्या समाधान हुने किसानको भनाइ छ । बरहथवा नगरपालिका–११, दियरका उपेन्द्र यादवले आफूलाई अहिले चुनावभन्दा पनि उखु खेतीकै चिन्ता रहेको बताउनुभयो । 

किसानलाई चिनी मिलसम्म उखु ल्याउनका लागि चलान नपाएर हैरान भए पनि कुनै नेताले समन्वय नगरिदिएको यादवको गुनासो छ । “हामीले गत वर्षको ३५ रुपियाँ सरकारी अनुदान अझै पाएका छैनौँ, यस वर्ष पनि अहिले उखु बेच्नकै लागि चलान नपाएर हैरानी छ,” यादवले भन्नुभयो, “अहिले हामीलाई त चुनावभन्दा पनि मिलबाट कसरी चलान पाउने र काँटामा ल्याएर उखु तौलने भन्ने चिन्ता छ ।”

मुलुकभरमा सबैभन्दा बढी करिब १८ हजार हेक्टरमा उखु खेती हुने सर्लाहीमा अहिले इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल गरी तीन वटा चिनी मिल सञ्चालनमा छन् । यी तीन वटै उद्योगको उखु यार्ड र मिलले विभिन्न ठाउँमा राखेका तौल काँटामा चलानका लागि टायरगाढा, ट्याक्टर र ट्रकको लामो लाइन देखिन्छ । 

इन्दुशङ्कर चिनी उद्योग हरिवनका उखु प्रबन्धक योगनारायण रजकले यस वर्ष उखु खेती विस्तार भएकाले चिनी मिलले एकै पटक सबै किसानलाई चलान बाँड्न नसकेको बताउनुभयो । “हामीले यहाँ मिलबाट चलान दिएपछि मात्र उखु काट्नुपर्ने हो तर चलान नै नपाई मिल र तौल काँटासम्म उखु ल्याउनु किसानको पनि गल्ती हो,” उखु प्रबन्धक रजकले भन्नुभयो, “हामीले त उद्योगले उखु पेल्न धान्ने जति चलान मात्र दिएका छौँ ।”

इन्दुशङ्करले सञ्चालन भएको ५७ दिनमा १८ लाख उखु पेलिसके पनि उखु काट्न बाँकी किसानलाई अझै पनि चलान बाँड्न नै मुस्किल परिरहेको उखु प्रबन्धक रजकले बताउनुभयो । उखु खेती बढेकाले किसानले भनेकै समयमा चलान दिन भने नसकिएको रजकले स्वीकार गर्नुभएको छ । अब सुक्खायाम सुरु भइसकेकाले तत्काल उखु नकाटे तौल घट्दै जाने किसानको भनाइ छ । किसानका अनुसार उखुको चलान वितरणमा मिलका जेटिए र केही बिचौलिया मिलेर चलखेलसमेत गर्ने गरेका छन् ।

पहुँच भएकालाई उखु काट्नेबित्तिकै र केही व्यक्तिसँग पैसासमेत लिएर चलान वितरण गर्ने गरिएको उखु किसानले आरोप लगाएका छन् ।