• ६ फागुन २०८२, बुधबार

एक करोडभन्दा बढीको उखु जल्यो

blog

जीवछ यादव

लहान, फागुन ६ गते । लहान नगरपालिका–१३, घलेटोलस्थित खेतबारीमा लगाएको उखुमा आगो लाग्दा एक करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । सोमबार १२ बजेतिर सरस्वती र घलेटोल जाने कच्ची बाटोको पश्चिमी उखु खेतमा लागेको आगो नियन्त्रणमा ढिलो भएपछि १५ जना किसानको १५ बिघा खेतको उखु जल्दा एक करोड १६ लाख रुपियाँको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

लहान नगरपालिकाको कार्यालयबाट २० मिनेटमा वारुणयन्त्र पुग्न सकिने बाटो भए पनि नगरपालिकाको वारुणयन्त्र बिग्रेकाले गोलबजार नगरपालिकाबाट आएको वारुणयन्त्रलाई एक घण्टाभन्दा बढी लागेको थियो । उखु जलेर काम नलाग्ने अवस्थामा रहेकाले उखुमा आगो कसरी लागेको बारेमा स्थानीयले खोजी गरिरहेको कृषक रामलखन मण्डलले पीडा सुनाउँदै भन्नुभयो, “उखु भित्र्याउने बेलामा भएको क्षतिपूर्तिका लागि स्थानीय सरकारसँग माग गर्दछौँ ।”

२४ वटा वडा भएको लहान नगरपालिकामा दुई वटा वारुणयन्त्र हुनुपर्नेमा भएको एउटा वारुणयन्त्रको मर्मत नभएकाले आगलागीबाट जोगिन ठुलो समस्या हुँदै आइरहेको स्थानीयले गुनासो गरेका छन् । लहानमा आगलागी हुँदा केही वर्षयता गोलबजार नगरपालिकाको भर पर्नुपर्ने बाध्यताले ठुलो क्षति बेहोर्नु परिरहेको लहान–१३ का स्थानीय सुभकलाल यादवले गुनासो सुनाउनुभयो । 

कृषक महासङ्घका केन्द्रीय सदस्य रामनारायण महतोले सिराहामा रहको हिमाल चिनी मिलसँग समन्वय गरेर स्थलगत अनुगमन गरेर क्षतिपूर्तिका लागि पहल भइरहेको बताउनुभयो । उखु जलेर समस्यामा परेका किसानलाई लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले राहतको लागि सक्ने सहयोग गर्ने र थप सहयोगका लागि सम्बन्धित निकायमा पहल थाल्ने विश्वास दिलाउनुभयो । किसान रामलखन मण्डल, विसुनदेव यादव, रामदयाल मण्डल, कारी मण्डल, रामबिहारी मण्डललगायत १५ जना किसानका खेतमा लगाएको उखु जलेका छन् ।